Saturday, August 30, 2014

जापानी प्रेम कथा

कुरा जापानको एउटा गाउँको हो । जापानका गाउँमा हाम्रो पहाडतिर जस्तै सल्लोका काठबाट घर बनाइन्छन् । दश वर्ष अघि बनेको घरमा एउटा जोडी बस्थ्यो । महिला स्थानीय स्वास्थ्य चौकीमा काम गर्थिन्, पुरुष केही विरामी थिए, त्यसैले घरमै विस्तारै हस्तकलाका सामग्री निर्माण गर्दै उनी श्रीमतीको प्रतीक्षा गर्थे । 


एक दिनको कुरा हो, पलङ् छेऊको झ्यालको चेपमा उनले एउटा अनौठो किरा देखे । जंगलको रुखतिर पाइने त्यो किरा कसरी झ्यालको चेपमा आएर बस्यो, उनलाई अनौठो लाग्यो । साँझ उनले श्रीमतीलाई भने, ‘आज मैले उ त्यो झ्यालको चेपमा जंगलमा पाइने किरा देखें, घरमा नबस्ने त्यो जंगली किरा कसरी यो घरमा आएर बस्यो, मलाई अनौठो लाग्यो । 


श्रीमतीले उत्सुकता जनाएपछि उनीहरु मोमबत्ति लिएर झ्याल छेऊमा गए, त्यो किरा त्यहिँ थियो । दुवैले आश्चर्य माने र त्यो भाग्ला भन्ने आशंकामा चुपचाप फर्किए । (उनीहरु त्यो किरा घरमै बसोस् भन्ने चाहन्थे, सायद ।) 


भोलीपल्ट पुरुष एक्लै भयो । उ विस्तारै झ्यालको छेऊमा गयो । छक्क पर्‍यो, त्यो किरो अझै त्यहिँ थियो । उसलाई अचम्म लाग्यो । रुखको तल र माथि खुरुरु कुदिरहने त्यो किरा, हिजोदेखि त्यहिँ किन बसिरहेको छ ? 


ध्यानपूर्वक किरालाई हेर्यो र तीन छक पर्‍यो । त्यो किरा झ्यालको दुई काठका बीचमा ठोकिएको काँटीका बीचमा अड्किरहेको छ । थाहा भयो, मिस्त्रीहरुले केही महिनाअघि झ्यालको चौकस ठोक्दा त्यो किरो काँटीमा गाडिएको रहेछ । तै पनि त्यो जिउँदै थियो । 

पुरुष आश्चर्य र अविश्वासले उसलाई हेरिरह्यो र त्यसको पीडामा एकछिन रोयो । सोच्यो, आखिर उसले के खाएर बाँचिरहेको छ ? यत्रो समयसम्म उ किन मरेन ?

साँझ उसकी श्रीमतीलाई सबै कुरा भन्यो । श्रीमती अचम्ममा परी । दुबै मैनबत्तीको उज्यालोमा त्यसलाई हेर्न थाले । हेर्दाहेर्दै केही समयपछि एउटा अर्को किरो विस्तारै झ्यालमा देखियो । उनीहरु श्वास रोकेर त्यो नयाँ किरोलाई हेर्न थाले । उसको मुखमा एउटा मरेको कमिलो थियो । त्यो किरो झ्यालको चेपमा छिर्‍यो । 


मुखको कमिलो काँटीले च्यापिएको किराको मुखमा राखिदियो । काँटीमा च्यापिएको किराले कमिला खायो र खुशीको एउटा अनौठो आवाज निकाल्यो । त्यसपछि कमिला खुवाइदिने किरा फनक्क फर्किएर उफ्रिएर नाच्यो । यसरी नाच्दा उसका दुई प्वाँख फैलिए । 

थाहा भयो, च्यापिने भाले रहेछ र खाना ल्याइदिने पोथी रहिछ । 

राती ती जोडी अँगालोमा बाँधेर निकैबेर रोए । ‘मैले सोचेको थिएँ, म असल श्रीमती हुँ, किनभने वाहिर म कमाउन जान्थें र तिमीलाई मिठो मसिनो खुवाउँथे ।’श्रीमतीले भनी, आज थाहा भयो, मेरो प्रेम त्यो किराको जत्ति पनि रहेनछ ।’

हेमजी, तपाईं जसलाई प्रेम गर्नुहुन्छ, उसलाई यति माया गर्नुहोस् कि तपाईंको माया त्यो किराको भन्दा कम नहोस् । तपाईंले उनलाई म प्रेम गर्छु भन्नै पर्दैन, आफै सबै कुरा थाहा हुन्छ । विचार त्यो किरा, जो काँटीमा फसेको थियो, अनी त्यो किरा, जसले उसलाई दैनिक जंगलबाट आहारा लिएर आउँथी, उनीहरुसँग उचित प्रेमको शब्द छैन, केवल एउटा आवाज छ । तै पनि गम्भीर प्रेम छ ।


आश्विनी कोईराला 

No comments:

Post a Comment