
सुदर्शन मंगोल
नेपाली माओवादी आन्दोलनका प्रभावशाली युवा नेता कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा अहिले नयाँ अभियान आरम्भ भएको छ । त्यो हो– नेपालको आफ्नै मौलिकतामा आरम्भ भएको नयाँ लङमार्च । चीनमा माओले चलाएको लङमार्चजस्तै । कपिलवस्तु भेलादेखि किरण–बादलसँगको सम्वन्धविच्छेदहुँदै चितवनको बैठकसम्म आउदा कमरेड विप्लवले भिन्न शिराबाट लङमार्चको आरम्भ गर्नु भएको छ । चीनमा सन् १९३४ को अक्टोबरदेखि १९३५ को अक्टोबरसम्म माओको नेतृत्वमा एक वर्षे लामो अभियान संचालन गरिएको थियो । त्यही लङमार्चको जगमा माओले सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न पार्नु भयो । पछि अन्तर्राष्ट्रिय इतिहासमा लङमार्चको नामले विश्वविख्यात रह्यो ।
यो लङमार्च संचालन नगरेको भए चीनमा माओ र कम्युनिस्ट पार्टीको भविष्य करिब समाप्त हुने निश्चित थियो । किनभने तत्कालीन चीनका प्रतिक्रियावादी शासक च्याङ काई सेकले जर्मन सेनापति सिक्टको सुझावमा दश लाख सेनालाई चीनको च्याङसीमा रहेको आधारइलाका खत्तम पार्न सारा शक्ति केन्द्रीत गरेको थियो । च्याङको सेनाले च्याङसीको आधारइलाकालाई चारैतिरबाट घेरामा पारेर आधारइलाकाको छिमेकीसँगको सम्पर्कविच्छेद हुन जादा रसदपानी, लत्ताकपडालगायतका अन्य उपभोग्य सामानहरुको अभाव हुन गयो । सन् १९३३ देखि १९३४को अक्टोबरसम्म यो अवस्था रहँदा च्याङसी आधारइलाका तहसनहसको अवस्थामा पुग्यो । यस्तो बेला माओको दुरदर्शी भिजनमा कम्युनिस्टहरुले त्यो क्षेत्रमा त्यसरी घेरिएर बस्नुभन्दा घेरा तोडेर बाहिर निस्कने र अर्को प्रान्तलाई आधार इलाका बनाएर प्रतिरोध गर्ने योजना बनाए ।
सन् १९३४ को अक्टोबरमा १ लाख कम्युनस्टिहरुले पश्चिमको घेरा तोडे । त्यसपछि एक वर्ष हिडेर ती एक लाख क्रान्तिकारी सेनाहरु १९३५ को अक्टोबरमा सेन्सी पुगे, जहाँ जम्म २० हजार मात्र पुगेका थिए । त्यो १२ महिनामा केन्द्रीय लालसेनाले ११ वटा प्रान्तहरु, १८ वटा अजंगका पहाड र २४ वटा नदीहरु पार गरे । लङमार्चमा बँचेका २० हजार सेनाले चीनमा सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न गर्न पुग्यो । चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा माओ र लङमार्चबीच यस्तो अविभाज्य सम्वन्ध छ कि एकले अर्कालाई अलग गरेर हेर्नै सकिदैन । माओले लङमार्चलाई बुद्धिमत्तापुर्वक सम्पन्न गर्नु भयो भने लङमार्चले माओलाई एउटा स्पातिलो क्रान्तिकारी नेताका रुपमा स्थापित गरायो । यसपछि माओ चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा निर्विकल्प र निर्विवाद क्रान्तिकारी नेताको स्थानमा पुग्नु भयो । माओले एकैचोटी पार्टीभित्र र बाहिरका दुश्मनसँग लडेर जित हासिल गर्न यो अभियान सफलतापुर्वक सम्पन्न गर्नु भयो ।
आज नेपालमा कमरेड विप्लवको नेतृत्वमा क्रान्तिकारी माओवादीहरुले एउटा भिन्न ढंगको लङमार्च अभियान संचालन गरेका छन् । नेपालका प्रतिक्रियावादीहरुको चौतर्फी घेराबन्दी र आक्रमण माओवादी आन्दोलनमाथि भइरहेको बेला त्यसको डटेर प्रतिरोध गर्न र आफ्नो उपलब्धिको रक्षा गर्न पनि यो नयाँ अभियान संचालन गर्नै पर्ने थियो । चीनमा माओले बाह्य रुपमा प्रतिक्रियावादी च्याङको सेनाविरुद्ध लड्नु परेको थियो भने अर्कोतिर आन्तरिक रुपमा पार्टीभित्रका आत्मसमर्पणवादी अवसरवादी प्रवृतिका विरुद्ध लड्नु प¥यो । त्यसका लागि त्यो लङमार्च बलियो हतियार बन्न पुग्यो । चीनमा माओले चलाएको लङमार्चजस्तै नेपालमा अहिले कमरेड विप्लवको नेतृत्वमा नयाँ शिराबाट लङमार्च सुरुबात भएको छ ।
अहिले नेपालमा कांग्रेस–एमालेको नेतृत्वमा रहेको यथास्थितिवादीहरुले एक थान संविधानको नाममा माओवादी आन्दोलनलाई पूर्णतः समाप्त पार्नका लागि सारा योजनाका साथ आइरहेका छन् । यो बेला त्यसको डटेर प्रतिरोध गर्नका लागि पनि कमरेड विप्लवले यो अभियानको नेतृत्व गर्नु भएको छ । नाममात्रको एकथान संविधान घोषणा गर्ने । त्यो पनि ०४७ सालको संविधानजस्तै । त्यो संविधानभित्र दश वर्षे जनयुद्धका कुनैपनि गुञ्जायस रहने छैन । गरिब किसान, मजदुर, दलित, मधेशी, जनजाति, महिलालगायत कसैको पनि अधिकार सुनिश्चित हुने छैन । किनभने दश वर्षे जनयुद्धमा दश हजार मान्छेहरुले गरेको बलिदानलाई रद्दीको टोकरीमा फ्याक्ने काम कांग्रेस र एमालेहरुले धेरै अघि गरिसकेका हुन् । त्यसलाई वैधानिकता दिन उनीहरु एकथान संविधान घोषणा गर्न गइरहेका छन् । उनीहरु दश वर्षे जनयुद्धलाई कुनै पनि हालतमा स्वीकार्दैनन् भन्ने कुरा सयौं तथ्यहरुले देखाइसकेको छ । अहिले संसद्वादी कांग्रेस र एमालेहरुको मुख्य मक्सद भनेको एक थान संविधान घोषणा गर्ने, माओवादीहरुको भुमिकालाई सम्पूर्ण रुपले समाप्त गरिदिने र विदेशीसँग आत्मसमर्पण गरेर देशमा मुर्दा शान्ति कायम गर्ने रहेको छ । यो षडयन्त्रलाई चिर्न र प्रतिरोध गर्न पनि हामीले नयाँ अभियानको आरम्भ गरेका हौं ।
प्रतिक्रियावाद र आत्मसमर्पणवाद दुवैका विरुद्ध लडेर नेपाली जनवादी क्रान्तिको रक्षार्थ विप्लव कमरेडले नयाँ जोखिम लिनु भएको छ । देशी–विदेशी शक्तिहरुले जनयुद्धबाट आएका केही नेताहरुलाई प्रयोग गरेर जनयुद्धकै सम्पूर्ण उपलब्धि समाप्त पारे । त्यत्रो दशक जनयुद्ध लडेर आएका मान्छेहरुले आत्मसमर्पणको बाटो रोज्नु निकै दुखद पाटो थियो । तर कमरेड विप्लवको नेतृत्वमा रहेको यो माओवादीले आत्मसमर्पण होइन बलिदानको बाटो राजेको छ । जसरी प्रचण्ड र बाबुरामहरुले आत्मसमर्पणको बाटो रोजे त्यसका विरुद्ध हामीले किरण र विप्लवको नेतृत्वमा क्रान्ति र बलिदानको बाटो रोज्ने भनेर प्रचण्डहरुसँग सम्वन्धविच्छेद गरेका थियौं । तर अहिले आएर किरण र बादलहरुसमेत त्यही आत्मसमर्पणको बाटोमा लम्पसार बन्न पुगेपछि त्यसका विरुद्ध कमरेड विप्लवले निरन्तर क्रान्ति र बलिदानको बाटो रोज्नु भएको छ । दुश्मनहरु (कांग्रेसहरु) माओवादीलाई सखाप पार्न सारा तयारी गरेर आउनु तर हामीले क्रान्तिकारी नेतृत्व मानेर आएका किरण र बादलहरु सुतुरमुर्गले बालुवामा टाउको घुसारेर जिउँदै छु भने जस्तै मुर्खतापुर्ण काम गरे । उनीहरु दुश्मनसँग लडेर जित्न नसकिने निचोडमा पुगे । यस कारण पनि किरण–बादलसँग हामीले सम्वन्धविच्छेद गरेर नयाँ तर जोखिमयुक्त अभियानका लागि यात्रा सुरु गरेका हौ ।
हामीेलाई लाग्छ यो अभियान पुरा गरेरै छाड्ने छौं । अयिभान हो, को कति गन्तव्यमा पुग्ने हो, त्यो त हेर्न बाँकी नै छ । तर अब माओवादी आन्दोलनको भविष्य निकै सुन्दर बनेर उपस्थित भएको छ । क्रान्तिको बाटो खुला भएको छ । ९ वर्षको शान्तिप्रक्रियामा अड्केको क्रान्तिको हलो अब फुका भएको छ । जमेको पोखरीले निकास पाएको छ । प्रतिक्रियावाद, संशोधनवाद र आत्मसमर्पणवादका विरुद्ध यो अभियानले ठूलो धक्का दिने निश्चित छ । अब जनताका ज्यानी दुश्मनहरु दलाल पुँजीपति र सामन्त फटाहाहरुको स्वर्गमा ठूलो भुकुम्प जानेछ । अब फेरि तिनै गरिब किसान, सुकुम्बासी, कमैया र मजदुहरुको अनुहारमा खुशीयाली छाउने छ । नेपालमा फेरि अब सगरमाथाको देशबाट लालझण्डा फहराउनेछ । देश–विदेशका हाम्रा भाइचारा र शुभचिन्तकहरुबाट फेरि बधाई र खुशीका सन्देशहरु आउनेछन् । साच्चिकै हामीले नयाँ अभियान थालनी गरेका छौं । हारे हत्कडी, जिते संसार । यो बाहेक क्रान्तिकारीहरुका अगाडि अरु विकल्प हुँदैन ।
No comments:
Post a Comment