Saturday, July 26, 2014

हत्या प्रकरणका पात्रको पोल्टामा गृह !

रविन्द्र श्रेष्ठ ।

भनिन्छ, राजनीतिमा असम्भव केही छैन र कठघरामा उभिएकाहरु राजनीतिक खोल अडेर चिटिक्क बनेका कैयौं घटनाहरु छन् । राजनीतिक ओडारमा इतिहासदेखि नै कानुनी गला रेटिँदै आएको र यसको निरन्तरता कायम छ ।

मन्त्रालयको संरचनाभित्रका निकायहरु मन्त्रीका वरिपरी चाकडी र चाप्लुसीमा हात मोल्नु दैनिकी नै बनेको छ । मन्त्रीको कोट लगाएर अपराधीलाई पनि कुखुराले चल्लालाई झैं ढपक्क ढाक्नमा तल्लिन पाइन्छन् । हाम्रो राजनीतिमा पदीय लोलुपताकै कारण जनतामाझ मन्त्री कमजोर बन्ने गरेका घटनाहरु प्रशस्तै छ । सबै मन्त्रीहरुलाई एकै दर्जामा राख्न नसकिएला तर घटनाक्रमसँग नजिक रहेकाहरु पक्कै मन्त्रीको हर्कतसँग अपरिचित छैनन् ।


केही जानेर त केही नजानेर गल्तीहरु भएका होलान् तर सत्ताका खेलाडीहरु पटकपटक मन्त्री बनिसक्दा चुके होलान् भन्नु लाजामर्दो हुन सक्छ । विगतका काल खण्डमा राजनैतिक प्रसय पाएका घटनासँग ठोक्किएर आउने प्रतिक्रिया धेरै नकारात्मक भेटिँदै आएका छन् । पात्रहरु गलत नहोलान् । तर, सत्य ओकलिनु पर्नेमा राजनैतिक संरक्षणभित्र दविएका हुन्छन् ।

गृह प्रशासन पावर विनाको चश्मा लगाइरहेका छन् वा मन्त्रीले पावरविनाको चश्मा लगाएका छन् । या आँखा जाँच गर्नै भ्याएका छैनन् । सत्य उनी नै जानुन् । यति खेर राजनैतिक वृतमा पुरानो खेलाडी पुनस् झुल्किएका छन् । प्रसंग भर्खरै उपप्रधान तथा गृहमन्त्री बनेका बामदेव गौतमको हो । सत्ताका माहिर खेलाडीमा नाम दर्‍याएका गौतमले पद र प्रतिष्ठाका लागि मरिमेट्ने गरेकोमा बेलाबखत आलोचित पनि हुन्छन् ।

तेस्रो पटक गृह मन्त्रालय सम्हालेका गौतमको अतितका थुप्रै तीतामिठो घटनाहरु हुनु स्वाभाविक हो । तर त्यहीभित्र पनि कति अस्वाभाविक घटनाहरु पनि होलान् ।

हिजोका दिनमा उनको गृह प्रशासन यात्रा राजनैतिक सौदाबाजीबाटै गुज्रेका थिए र अहिले पनि उनको भागमा सौदावाजी नै परेको छ । सपथ लगतै पाच बुँदे निर्देशन दिएका उनको एउटा घटना यहाँ चर्चा गर्न लायक छ ।

रामहरिसंग जोडिएका प्रसंगहरु

विं।सं २०६५ सालको प्रचण्ड नेतृत्वको सरकार हुँदा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ मारिएको घटना सार्वजनिक भएको थियो । त्यस दिनदेखि राजनैतिक घटनाक्रमहरुमा हेरफेर आउन सुरु भएको मान्न सक्छौं । रामहरि किन मारिए र मारिनुका पछाडि क–कसको हात छ रु त्यसतर्फ जान चाहन्न । घटनाको प्रकृतिबारे अन्धकारमा बोल्नु उपयुक्त नहोला । अझ भनौं समयानुकुल नहोला । यस वरिपरीका सत्यतथ्यहरु केही बाहिरिएका छन् त केही बाहिरिने क्रममै छन् ।

रामहरि हत्या पश्चातको विकसित घटनाक्रमलाई हेर्दा राजनैतिक प्रसय निकै स्मरण योग्य रहेको छ । धेरै नजिकबाट नियालेको नभए पनि  केही नियालिएका गतिविधि भने हिन्दी फिल्मी शैलीका छन् । कसैको भावनामाथि खेलवाड गर्ने उद्देश्य हैन तर लुकेका सत्यहरुलाई उजागर गर्नु पक्कै न्यायोचित र समय सान्दर्भिक हुने देखिन्छ ।

पहिलो संविधानसभाको चुनाव सकिएर एमाओवादी नेतृत्वको सरकार गठन पश्चात रामहरि हत्या काण्ड निकै पेचिलो बनेरअघि बढ्यो । सत्ता नै कायापलट गराउने गरि एमाले ‘ब्याक पुस’ गरी नै रह्यो । सरकार र रोडको तारतम्य मिलाउँदै प्रचण्ड नेतृत्व सरकार गलाउने काम गरिनैरहे । अन्ततस् समझदारी भई सडक आन्दोलन टुंगियो र कानुनी प्रक्रियामा प्रवेश गर्‍यो । रामहरि मारिनुको नैतिक जिम्मेवारी लिँदै गोविन्दबहादुर बटाला भरतपुरको जेल गए । गृह प्रशासनको सहयोगमा कानुनी उपचारको खोजीमा रामहरि परिवार निरन्तर लागि नै रहे ।

अदालती कठघराले हत्यारालाई खोजिनै रह्यो । राजनैतिक प्रसय पाएका घटनाहरुमा कानुनी प्रक्रियामा ल्याउन जटिल हुने गर्छ । बटाला कानुनी प्रक्रियाकै क्रममा निर्दोष ठहरिए । तर कानुनले मुख्य अभियुक्त ठहर गरेका तेस्रो डिभिजन कमान्डरसमेत रहेका कालीबहादुर खाम मगर ‘विविध’ भने खुल्लम खुल्ला हिँड्दासमेत समात्न कोही तयार भएनन् । ‘विविध’ कमान्डर भएकोले दोषी उनैलाई मानेर मोस्ट वान्टेड सूचीमा गृह प्रशासनले राख्यो तर गृह प्रशासन सम्हालेका उच्च ओहोदाका व्यक्तिहरुसँगको हिमचिम कै कारण सधै सुरक्षित बन्ने गथ्र्यो । विविधको दोष कमान्डर हुनु हो वा साच्चै विविधले नै हत्या योजना बनाएका हुन् रु त्यो खुल्दै जालान् ।

जोडिएका पात्र फेरि गृहमन्त्री

राजनैतिक आडमा भए गरिएका घटनामध्ये रामहरि हत्यासँग जोडिएका पात्र र गृह प्रशासनको मोस्ट वान्टेडमा परेका विविध बौद्धबाट हतियारसहित समातिँदा कसरी छुटे रु जब विविधलगायत माओवादी शिविरका लडाकुहरु बौद्धबाट हतियारसहित समातिए । त्यसपछि बौद्व पुलिसले हनुमानढोका पुर्‍याएको केही घण्टा नबित्दै मिडियामा माओवादी शिविरका लडाकुहरु समातिएको खबर फैलिएको थियो । खबरमा तेस्रो डिभिजन सचिव अविरल समातिएको भनि प्रचार गर्‍यो । अविरल डिभिजनभित्रै थियो । यो सब विविधको चलाखी थियो । आफूलाई डिभिजन सचिव अविरल रहेको भनि झुट बताएका थिए ।

सरकारको नेतृत्व तत्कालीन माओवादीकै पोल्टामा रहेकोले छुटाउन सामान्य नै हुने भयो । त्यसमाथि नाम नै झुट टिपाएपछि त झन् सहजै छुट्ने नै भए । विविधको कनेक्सन सिधै प्रचण्डसँग हुनु नौलो कुरा भएन । डिभिजन कमान्डर रहेकोले सम्पर्क नियमित रहेकै बुझ्न सक्छौं । त्यसैबखत प्रचण्डले जतिसक्दो छिटो छुटाउन गृहमन्त्रीलाई निर्देशन दिएको बुझ्न गाह्रो भएन । गृहमन्त्रीले जानेर वा नजानेर प्रहरी प्रशासनलाई दवाव दिएकै कारण गृहको मोस्ट वान्टेडमा परेका सहजै छुट्न पुग्यो । अझै मोस्ट वान्टेडकै लिस्टमा छन् । हाम्रो देशको प्रहरी प्रशासन राजनैतिक त्रासमा रहेको प्रष्ट छ ।

हतियारसहित समातिएको पात्रको विस्तृत विवरण नै नलिई छाडिनु भनेको दवाव नै प्रमुख कारण बन्न पुगेको सहजै अनुमान लगाउन सक्छौं । नसुनिएको हैन गृहमन्त्री र डीआइजीकै रोहवरमा छाडिएको थियो । गृहमन्त्री सम्हालेको व्यक्तिले नबुझी पक्कै छाड्न निर्देशन दिएनन् । निर्देशन प्रचण्ड कै थियो र गृहमार्फत विविध छुटेका थिए ।

यसरी यो घटनालाई हेर्दा प्रशासन राजनैतिक ओडार भन्दाबाहिर रहेका छैनन् भन्दा अतिउपयुक्त हुन सक्छ । विविध गलत थिए वा सही भन्ने कुरा अनुसन्धान पश्चात् पत्ता लाग्ला । प्रमुख अभियुक्त नै पन्जामा परेर छुट्नु भनेको लज्जास्पद छ ।

न्यायको गला रु

सर्वसाधारणलाई कानुन लाग्ने, राजनैतिक प्रसय पाएकाहरुलाई कानुन नलाग्ने कथित् कानुनी उपचार व्यर्थैका झन्झट भएका छन् । गृह पुनस् उनैको पोल्टामा पुगेको छ । मोस्ट वान्टेड आजसम्म समातिएका छैनन् । कानुनी राज्यमा खिल्ली उडाउने पात्र दोहोरिएका छन् । न्यायको गला पुनस् रेटिन पो सक्छन् कि रु

No comments:

Post a Comment