Friday, February 21, 2014

एनआरएन जापानको आर्थिक हिनामिना भुसे आगोझैँ सल्कँदै

nrn-ghotalaटोकियो । व्यवसायिक दुनियाँमा प्रवेश गरेकाहरुको हालीमुहाली रहेको एनआरएन धनाढ्यहरुको बस्ती हो भन्दा सायदै फरक पर्ला । एनआरएन भित्रको आर्थिक घोटाला नौलो नभइ दीर्घ रोगको रुपमा परिचित हुन थालेको छ ।
यही दीर्घ रोगले एनआरएन जापानमा पुन : भुसे आगो झैँ सल्किएको छ । त्यो आगो रापकै रुपमा ननिस्किसकेको भएपनि केही धुँवाहरु भने उड्न थालेका छन् । युवाहरुको जवर्जस्त उपस्थिति रहेको एनआरएन जापानको वर्तमान कमिटिमाथि केही आशा गरिएपनि उलेख्य काम भने गर्न सकेको छैन ।
यसैबीचमा आथिर्क हिनामिनाको रहस्य बिस्तारै बाहिरिन थालेपछि यस कमिटिप्रति प्रश्न चिन्ह खडा हुन थालेका छन् । पछिल्ला सार्वजनिक भएका र सार्वजनिक हुने क्रममा रहेका केही तथ्यहरु नेपाल सन्देश डट कमले पत्ता लगाएको छ ।
सुरजको आत्महत्यासँगै रहस्य खुलासा
यससँगै एनआरएन जापानको बैंक खाताबाट लाखौं रकम गुपचुप झिकिएको रहस्य खुलेको छ । केही समयअघि जापानमा अध्ययनरत सुरज बस्नेतले रेलको लिगमा हामफालेर आत्महत्या गरेको बेला आथिर्क सहयोग गर्ने घोषणा गरे लगत्तै रहस्य खुलेको हो ।
निश्चित व्यक्तिले मात्रै रकम झिक्न पाउने व्यवस्था भए पनि पुरानो कमिटिसँग पासबुक भएकोले चेक गर्ने गर्दै आएको स्रोतको दावी छ । सोही क्रममा बैंक खातामा रहेको रकम हिनाहिना भएको खुलेको हो । एनआरएन जापानले आथिर्क हिनामिना भएको कुरा बाहिरिने डरले भित्रभित्रै मिलाउने मिलाउने गरेको स्रोतले बतायो ।
टोकियोमा चाहियो पैसा, कोषाध्यक्ष नेपालतिर
गोरखाको सुरज बस्नेत रेलको लिगमा हामफालेर ज्यान गुमाएपछि एनआरएन जापानले आथिर्क सहयोगको घोषणा गरेका थिए । त्यस लगत्तै रकम संकलन अभियानको सुरु गरेका एनआरएन जापानले आफ्नो बैंक खातामा पठाउन अपिल गरेका थिए । यसै समयमा कोषको जिम्मा लिएका एनआरएन जापानका कोषाध्यक्ष तेज अर्याल २ हप्ताका लागि नेपाल पुगेका थिए भने यता पैसा झिकेर दिनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको थियो ।
यसै क्रममा खातामा ‘के कति रकम रहेको ?’ बारे खाताको पासबुक मार्फत जाँच गर्न खोज्दा नभेटिए पछि खाता खोल्ने व्यक्तिहरुको सहयोगमा बैंकबाट सम्पूर्ण विवरण लिइएको थियो । अनि खुल्यो रहस्य हिनामिनाको । योसंगै अघिल्लो कमिटि समेत मुछिने सम्भावना छ ।
युवाको सक्रियतामा खोजबिन, एकपटकलाई माफी
लाखौं रकम बिना जानकारी झिकिएको पत्ता लागेपछि खोजी कार्य सुरु भएको नाम नबताउने शर्तमा एक जानकार बताउँछन् ।
एनआरएन भित्रका केही युवाहरु सक्रिय भएपछि एनआरएनको बैठकमै आत्माआलोचित गराउने अन्यथा कारवाही गर्ने योजनाका साथ बढेको थियो । पत्ता लागेपछि सोधपुछ गर्दा रकम झिकेपनि प्रयोग नगरेको र कारवाही समेत भोग्न तयार रहेको बैठकमा स्पष्टिकरण दिएपछि एकपटकलाई माफी दिएको एनआरएन जापानभित्रका एक जानकार बताउँछन् ।
लाखौं रकम दुई, तीनपटक गरि झिकिएको रेकर्ड देख्न सकिने स्रोत बताउँछन् । लगभग दुई महिनाको बीच लाखौं रकम भोगचलन गरिएको सहजै अनुमान लगाउन सकिन्छ । बैंकबाट झिकेर खर्च नगरिएको बताए पनि मोटो रकम कहाँ कसरी भोगचलन भए भन्ने प्रश्नहरु निस्कन थालेका छन् । रकम के कति झिकिएको तथ्य भने गोप्य राखिएको छ ।
कसले झिके रकम ?
एनआरएन जापानको आथिर्क हिनामिना गरिएको भनि तथ्य सार्वजनिकसंगै खोजि कार्य गरि पत्ता लागिसकेपछि जनवरी १८ तारिकको बैठकमै गल्ति स्वीकार्दै आलोचित बनेका पात्र एनआरएन जापानका कोषाध्यक्ष तेज अर्याल हुन् । नियत सहि होलान् तर रकम चलाउने प्रक्रिया भने चोर शैली नै हो भन्दा फरक नपर्ला ।
स्रोतका अनुसार उनले रकम कुनै काममा खर्च गर्ने उदेश्यले नझिकेको बताएपनि के कामको लागि झिकिएको खुलाएका छैनन् ।
संस्थाको नियम विपरित लाखौं रकम झिकिएको तथ्यलाई लिँदा राम्रो पटक्कै मान्न सकिन्न । यसवारे कारवाहीको माग गर्ने कोहि नभएको अर्याल बताउछन् । एनआरएनभित्र बहसको विषय भने बनेको थियो । हिनामिनाको रकम पुन : फिर्ता गरिदिने, कुनै पनि कारवाही भोग्न तयार साथै आत्माआलोचित समेत भएकोले गुपचुप बनाइएको हो ।
तत्पश्चात् अर्यालले रकम फिर्ता गरिसकेका छन् । यो घटनासंगै अघिल्लो कार्यसमितिकाले समेत लाखौ रकम चलाएको रहस्य बाहिरिने सम्भावना बढेर गएको छ ।
आर्थिक हिनामिना बारे अर्यालको बयान
म २/४ सय मानको लागि एनआरएनमा लागेको हैन । पैसाको लागि एनआरएन मै लाग्नु पर्छ भन्ने पनि छैन । तेज गलत थियो भने मैले राजिनामा दिन तयार हुँदा कसैले किन मेरो राजिनामा लिन र पास गर्न चाहेनन् ?
म र मेरो कमाई खाने भाडो प्रति रिस गर्नेलाई गल्तीको महशुस गराउँछु । यदि मैले पासबुक अरुलाई दिएर आर्थिक हिनामिना भए दोष र जिम्मा कसको हुन्छ ? मेरो हो नि ? म २ हप्ताको लागि नेपाल गएको र त्यतिबेला साथीहरुलाई मैले बारबार कन्ट्याक्ट गर्दा कन्ट्याक्ट हुन नसकेकोले मैले माफी मागी सकेको छु ।
सम्पर्क नगर्नु मेरो कमजोरी हो किन कि पारिवारिक समस्यामा परेकोले मैले सरि भन्नु उचित ठानेर गल्तिको महशुस गरेको हो । तर, त्यसैलाई इस्यु बनाउँदै केहि साथीहरुले मलाई प्रयोग गर्दै कहिले मलाई बदनाम र मेरो व्यवसायिक बाटो छेक्ने प्रयास गरेका हुन् । त्यो कति सहि र गलत मैले बुझेको छु ।
पूरै प्रमाण जुटाएर कालै नलागेकालाई लागूँ–लागूँ र लागेकालाई भागूँ–भागूँ हुनेगरि प्रमाण दिन सक्छु । सबै विवरण कपि गरेर दिन सक्छु ।
प्रोत्साहन कि कारवाही ?
यस घटनाले एनआरएन जापानभित्र विगतमा निकै आर्थिक हिनामिना भएको बुझिन्छ । तर, पुरानो कमिटितर्फ अहिलेको कमिटीले प्रमाण खोजी सत्यतथ्य बाहिर ल्याउने तत्परता देखाउन सक्ने देखिन्न । बरु यस्ता घटनालाई लुकाएर उल्टै प्रोत्साहन गर्ने देखिन्छ ।
यसर्थ : पारसमणि पोखरेल नेतृत्वको एनआरएन जापान विवादको घेरा भन्दाबाहिर रहन सकेन । यदि सत्यतथ्य बाहिर ल्याउन सके एनआरएन जापानमा विश्वास बढेर जाने देखिन्छ ।
स्रोत: नेपालसन्देश डट कम 
2014-2-19

No comments:

Post a Comment