रविन्द्र श्रेष्ठ
सेताम्मै कपाल फुलेका बुढा बुढी बा आमा, अनगिन्ती सपनाका लावालस्करहरु मनमा गुन्जायमान प्राय सबैको मन मस्तिष्कमा सल्बलाउछन नै । बा आमाले जोडिदिएको सम्पतिले परिवार जेनतेन त धानिएला तर मन भित्रका अनेकन आवश्यकताले सोच्नै पर्ने बाध्यता बढाई दिन्छन् ।
विदेश भन्ने वित्तिकै पैसाको विटा नै विटा फल्ने र सुर्केस भरिने झैँ सपनामा पनि विटो देख्ने हामी नेपालीको बानी कति उदेक लाग्दो सोच मनमा पालेर पोको पुन्तुरो बोकी सपनाको संसारमा डुबुल्की मार्न हतारिन्छौं ।
सपनाको संसार प्रवेश गर्नुलाई जीवनकै अभिष्ट ठान्छौ । पल्ला घरे काकाले हाम्रो घरको दैलो तिर फर्केर छोरो त जापान जाने रे त १ भन्दा नै मनमा काउकुति लाग्ने गरि भनिदिने ।
एक पटक त जसरी भएपनि पुगु-पुगु लाग्ने, मान्छेको जात न हो । उक्साहट र सपनाले जेल्लिएको रहरले स्थान पाउदै जान्छ ।
एक दिनको कुरा हो । यहि अधिक सपनालाई विपनामा परिणत गर्न रहर र बाध्यताको भुमरीमा पिल्छिएका संजित ढकाल पनि एक प्रतिनिधि मुलक पात्र हुन् । विगत ६ महिना देखि जापानमा जापानी भाषा अध्ययन गरिरहेका संजित हाम्रो नियमित सम्पर्कमा मै रहेका थिए । ६ महिनामै जापानीज भाषाको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएछन् ।
गोर्खाको सौरपानीमा जन्मी हुर्कीएका संजितको सपना पनि ठूलै हुने नै भए । यहि सपनालाई पच्छाउदै बुढा बुढी बा आमालाई धेरै पढेर धन कमाउने र सुखसंग पाल्ने सपना बुन्दै काठमाडौंको यात्रा तय गर्न पुग्छन् । काठमाडौं मै रही पत्रकारिता गर्दै आएका दाई इश्वर ढकाल नेपाल सन्देश डट कम का सक्रिय पत्रकार पनि हुन् ।
संजित काठमाडौं नगरीमा आफ्नै दाईले बसोबास गर्दै आएको डेरामा सहज वातावरणमा घुलमिल हुन मद्दत पुग्नु अनौठो पनि भएन । २ पास गरिसकेपछि टोलका छरछिमेक आफन्त साथी भाईहरु विदेशको यात्रा तय गरेको देख्नु नेपालीहरुको लागि नौलो कुरा रहेन । उनी पनि गाउमा रहेका बा आमासंग बिदा मागेर समुद्रपारी हान्निए ।
६ महिना अघि देखि नियमित सम्पर्कमा रहेका संजित अलि बिकट काम नपाउने भूगोलमा आएकोले अनगिन्ति गुनासाहरु राख्ने गर्थे । लाखौ ऋण काडेर छोरालाई जापान पठाई सकेपछि बुढा बुढी बा आमाले छोराले गएको १/२ महिनाबाटै पैसा पठाउनेमा ढुक्क हुनु स्वाभाविक छ । किन कि लाखौ रकम खर्चिएर जापान जस्तो विकसित देशमा छोरा पठाई सकेपछि केहि महिना भित्रै साहुको सावा ब्याज तिर्नेमा ढुक्क हुन्छन् नै ।
तर, जापान सोचे जस्तो र अड्कल बाजी कै भरमा बुझ्न सक्दैनौ । पल्ला घरकाले पैसा कमाए जसरी कमाउन सक्छन भन्ने पनि छैन । यहि शहरमा पजेरोमा हुईकिनेहरु पनि छन् त यहि शहरमा रोडमा पैदल हिड्नेहरु पनि प्रसस्तै भेटिन्छन् । यसो भन्दैमा मनमा पालेर राखेको अनेकन सपनाहरुलाई तुहाई दिने त रु त्यसो पनि भएन ।
संघर्ष जीवनको अर्को परिभाषा हो । आफ्नो भूमि र आमाको काखलाई रित्याएर समुद्रपारी सपनाको महल ठड्याउनेहरुको दैनिक जसो लास नेपाल पुग्ने गरेका पनि छन् । यसका कारण हामी नै हौ । आफ्नो देशमा रहेको कुटोकोदालोमा भविष्य देख्दैनौ । विदेशमा विटो फलेको देख्ने गर्छौ ।
मैले पनि यी हरफहरु लेख्दै गर्दा सपनाको शहर मनमा सजाएर नै प्रवेश गरेको थिए । दुई बर्षमा जेनतेन साहुको ऋण तिर्न सफल भए तर मेरो दूई बर्षको अवधिमा जीवन संघर्षमा नेपाल भन्दा कैयौ गुणा घम्साघम्सी परे होलान् । मन भित्रका रहरहरुलाई सम्झदै कठोर मन लिएर कर्म भूमीमा भौतारिदै डुल्दै छु । गाउ घरका इस्ट मित्रले सोध्ने गर्छन् । तैले त धेरै कमाईस र हामीसंग बोल्न छाडिस । यसरी भन्छन् कि विटोले मै पुरिए झैँ गरि किला रोपिदिन्छन् । मन भित्रको कथा व्यथा कसलाई सुनाउने रु पत्याउने भए त सुनाउने ।
यहि समाजमा दलाली र चाकडी गर्नेहरु पनि प्रसस्तै भेट्न सक्छौ । दम्भ र आक्रोशित भिड पनि नजर अन्दाज गर्न सकिन्छ । भाषा हुनेलाई काम प्रसस्तै छ । तर विद्यार्थी भिषामा रहेकालाई २८ घण्टा हप्ताको । जेनतेन स्कुल फि र व्यक्तिगत खर्च धानेको हुन्छ । धेरै काम गरेर पैसा कमाउ भने भिषा नथपिने चिन्ता र पनि पेल्लिन्छौ ।
संजित पनि टोकियो भन्दा धेरै परको शहरमा अध्ययन गर्दै थिए । रहर मेरो जस्तै नै हो । जीवनलाई हराभरा बनाउने । तर, काम गर्ने कम्पनी प्रसस्त नभई दिदा उकुसमुकुसको जीवन जिउदै आएका थिए । टोकियो तिर सार्ने कुरा पनि भएको थियो । टोकियो आसपासका स्कुलमा कुरा चलिरहेको पनि छ । यसै बेला संजित समुद्रमा डुबेर अस्पताल पुगेको खबरले दुखित बनाएको छ ।
जापानवासी नेपालीहरु पुनः एक पटक संजितको जीवन सकुशल फर्काई दिन आ–आफ्नो ठाउबाट कामना गरिरहेका छन् । संजित तिमी सकुशल फर्क । हसिलो मुहार लिएर टोकियो बसाई सर्नेमा हामी ढुक्क भएका छौ ।
तिम्रो सेताम्मे कपाल फुलेका बा आमाको सुखका दिन विपनामा देखाउन अस्पतालको बेडबाट फर्किनेमा जापानमा रहेका हज्जारौ नेपालीहरु व्यग्र प्रतिक्षारत छन् । डाक्टरका अनुसार आईसियुमा राखेर उपचार गरिदै छ । स्वास गतिमा सुधार आईरहेको छ । यसले खुसी संचार भएको पनि छ । यो खुसीले निरन्तरता पाउनेमा बिश्वस्त छौ । संजित तिमी हासेको हेर्न चाहान्छौ । बुढाबुढी बा आमाको सपना साकार पारेको हेर्न चाहान्छौ ।
संजित तिमी चाँडो निको होऊ ।
2014-07-29
No comments:
Post a Comment