रबिन्द्र श्रेष्ठ
भनिन्छ, कुनै पनि मानिसको जन्ती र मलामी जीवनमा एकपटक मात्र जानुपर्छ । अर्थात्, जीवनमा एकपटक मात्र विवाह हुन्छ र सिर्फ एकपटक मात्र मरिन्छ ।
नयाँ संविधानसभाको चुनाव भयो तर संविधानसभा बनिसकेको छैन । चुनाव भएको तर नयाँ संविधानसभा नबनेको यो बीचको अवस्थामा पूरानो संविधानसभा अर्थात् मरिसकेको संविधानसभालाई फर्केर हेर्न आवश्यक भएको छ ।
नेपाली जनताको मानसपटलमा संविधानसभा मरेको छैन, विगत संविधानसभाका उपलब्धीहरुको जनताले उपभोग गरिरहेका छन् । अनि, विगत संविधानसभाको विकृति र विसंगति पुनरावृत्ती होला कि भनेर चनाखो भएर पनि हेरिरहेका छन् । यो कारणले पनि स्वर्गीय संविधानसभालाई फर्केर हेर्नुपरेको हो ।
विगत संविधानसभालाई यस अर्थमा मरिसकेको भन्नुपरेको हो कि त्यसको हत्या भएको थियो, अकालमा मृत्यु गराइएको थियो ।
गत संविधानसभा धेरै अर्थमा ऐतिहासिक थियो । नेपालको इतिहासमा पहिलोपल्ट जनताबाट चुनिएका प्रतिनिधिहरुको उपस्थितिमा गठित संविधान सभा प्रति जनताले निकै आश गरेका थिए । संविधानसभाको सर्वोच्च उपलब्धी थियो २४० बर्षे राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गर्दै गणतन्त्रको स्थापना गर्नु ।
पहिले मीठो, पछि तीतो
व्यवहार भनेको पहिले तीतो र पछि मीठो हुनुपर्छ भनिन्छ तर विगत संविधानसभा योभन्दा ठीक उल्टो भयो । पहिले मीठो भयो अनि पछि तीतो भयो ।
जस्तो कि, सहज थिएन गणतन्त्र घोषणा गर्नु । सदीयौंदेखि राज्यसत्तामा कब्जा गरेर बसेको राजतन्त्रले मुलुकमा गहिरो जरा हालेको थियो । त्यो जरा उखेल्न सकिएला त ? संविधानसभाको पहिलो वैठक बस्ने दिनसम्म पनि नेपाली जनता सशंकित थिए ।
त्यस्ता अनेक शंकाको एकमात्र जवाफ थियो गणतन्त्र घोषणा । बास्तवमा ६ सय एकजना सभासद्ले आफ्नो बलबुतामा मात्र गणतन्त्र घोषणा गरेका थिएनन् । नेपाली जनताको दह्रिलो साथ पाएकाले मात्र संविधानसभाले गणतन्त्र घोषणा गर्न सकेको हो । किनभने गणतन्त्र नेपाली जनताको चाहना थियो, संविधानसभा चुनावमा जेजस्तो परिणाम आएको थियो, त्यो गणतन्त्रको पक्षमा म्याण्डेड थियो ।
संविधानसभाको पहिलो पाइला नै गणतन्त्र घोषणा भएकाले आगामी पाइला पनि सशक्त हुने जनअपेक्षा थियो । त्यो जनअपेक्षा कसरी सपनामा परिणत भयो भन्ने हामीले देखि भोगिसकेका छौं ।
दलहरुले संविधानसभाको चारवर्षे कार्यकालमा जनताले आशा गरे अनुरुपको प्रतिफल दिन सकेनन् ।
चार वर्षमा जनताले के पाए ? राष्ट्रपति र उपराष्ट्रपति पाए, संविधानसभाको अध्यक्ष र चार जना प्रधानमन्त्री पाए । अनि, केही दर्जन मन्त्री पाए । फेरि पनि संविधानसभाको बोझ पाएका छन् । फेरि पनि अर्वौं रुपैयाँ बगाएर संविधान निर्माणको गन्थनमा मुलुकलाई भुलाइएको रमिता हेर्न पाउने भएका छन् । अब पनि संविधान बन्छ कि बन्दैन भन्ने अनिश्चय जनताले पाएका छन् । वैठक बस्नै नसक्ने खालको संविधानसभा पाएका छन् । संविधानसभा वैठक बसेपछि पनि नयाँ संविधान र दिगो सरकार नपाइने अनिश्चय पाएका छन् । गत संविधानसभाको जराबाट प्राप्त उपलब्धी भनेपनि विसंगति भने पनि यही नै हो ।
नबोल्नेहरु
संविधानसभाको चारवर्षे कार्यकाल राजनीतिक दलहरुको सत्तायुद्धको युग बन्यो । सरकार बनाउने र गिराउने फोहोरी संसदीय खेलमा दलहरु चुर्लुम्म डुबे ।
सत्ताको खेल यस्तो हुन्छ जहाँ अविश्वाश नै अविश्वाश हुन्छ । सत्ताको खेल, सत्तासँगै जोडिएर संविधान निर्माणमा अविश्वाशको खेल अनि अनुत्तरदायी दलीय क्रियाकलापबाट जनता निराश बन्दै गए । संविधान निर्माण दलहरुको ओठे प्राथमिकताको विषय मात्र बन्यो ।
संविधान निर्माणमा दलहरु कति उदासीन भए भने उनीहरु संविधानसभाको वैठकमा जाँदै जाँदैनथे । गए पनि बोल्दैनथे । संविधानसभाका समितिहरुमा ठूला नेता कोही पनि गएनन् । संविधान निर्माणसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण छलफल भएका संविधानसभाका वैठकमा पनि शीर्ष भनिएका नेताहरु बोलेनन् ।
सत्ताको खेल हुने, सरकार टिकाउन र गिराउन पाइने, मन्त्री प्रधानमन्त्री बन्न पाइने थलो अर्थात् व्यवस्थापिका संसदमा चाहिँ शीर्ष भनाउँदा नेताहरु घाटी सुकिन्जेल भाषण गर्थे । आपसमा गाली गलौज पनि त्यहीँ गर्थे । संसदमा बोल्न मरिहत्ते गर्ने नेताहरु संविधानसभामा चाहिँ बोल्दैनथे । एकैपट नबोलिकन उनीहरुले संविधानसभामा चार वर्ष बिताए ।
संविधानसभाको यात्रा दलहरुको विश्वाशबाट सुरु भएको थियो तर अविश्वाशमा टुंगियो ।
दुई सहमति, वाँकी विमति
चार वर्षको अवधीमा दलहरुबीच आपसमा मिलेका विषय थोरै मात्र भए, नमिलेका विषय नै धेरै भए । सरकारमा बस्न पाउनेले संविधान निर्माणका लागि चासो देखाए जस्तो गर्ने र विपक्षमा बस्नेले भाँजो हाल्ने काम निरन्तर गरियो ।
शासकीय स्वरुप, संघीयता र न्यायप्रणालीमा दलहरुबीच सहमति हुन सकेन । बास्तवमा नयाँ संविधान कस्तो बनाउने भन्ने आधारभूत संरचनामै दलहरुबीच सहमति हुन सकेन । नयाँ संविधान निर्माणमा दलहरुको नीति के हो भन्ने थाहा पाउन नसकिने स्थिति भयो । दलहरुले आफ्नो नीति होइन नियत मात्र देखाए ।
संविधान निर्माणका लागि दलहरुले निरन्तर छलफल गरे । तर, यस्तो छलफल संविधानसभामा नगरेर होटल र रिसोर्टतिर गरे । संविधानका अन्र्तवस्तुमा अनावश्यक विवाद गरेर जनतालाई जुधाउने तर आफूहरुचाहिँ छलफलका नाममा होटल रिसोर्ट चाहार्ने जुन काम गरियो त्यसबाट जनता झनै निराश भए ।
संविधान निर्माणका नाममा दलहरु तथा तिनका शीर्ष नेताले होटल रिसोर्टतिर गर्ने छलफलमा दुइटा विषयमा चाहिँ सर्वसम्मति हुन्थ्यो, एउटा हो अघाउने गरी खाजा खाना खाने, अर्को हो फेरि त्यस्तै वैठक गर्ने । वैठकमाथि वैठक र छलफलमाथि छलफल गरेर चार वर्ष बिताइयो ।
संबिधान सभाको ४ बर्षको अवधीमा अर्वौं रुपैयाँ खर्च गरियो । बास्तवमा संविधानसभा र संविधान निर्माणमा कति रकम बगाइयो भन्ने तथ्य तथ्यांक सरकारसँग पनि छैन । साधारण एनजीओदेखि संविधानसभा स्वयंले पनि विदेशी डलरमा गोष्ठि सेमिनार गरेका थिए । गोष्ठि सेमिनार राष्टिय उद्योगजस्तै भएको थियो विगत संविधानसभा कालमा ।
संविधान नबनाएर किन पटकपटक संविधानसभाको म्याद थपियो ? संविधान बन्नासाथ यस्ता डलर गोष्ठि र आइएनजीओको खर्चमा धेरैको विदेश भ्रमण बन्द हुन्थ्यो । संविधान बन्नुमा भन्दा नबन्नुमा फाइदा पाउने वर्ग सिर्जना भयो । र, यस्तो वर्गको आयतन पनि बढ्दै जान थाल्यो । यस्तो वर्गले नयाँ संविधान बन्न नदिन केकस्ता षडयन्त्र गरे भन्ने रहस्यकै विषय रह्यो । तैपनि तिनको नियत भने जनताले बुझेका छन् ।
फेरि मलामी ?
गत संविधानसभाको जे कारणले हत्या गरियो ती कारण अहिले पनि ज्यूँदै छन् । गत संविधानसभामा जेजे विवाद थिए ती विवाद अहिले पनि यथावत छन् । विगत संविधानसभामा जो पात्रहरुको हालीमुहाली थियो अहिले पनि तिनै पात्रहरु छन् । पात्र उही, पाठ उही, नीति उही, नेता उही, नियत उही, अनि कसरी पत्याउने संविधान बन्छ भनेर ?
चुनावबाट जनादेश नवीकरण गरियो भन्नेहरुले के ठानेका छन् भने उनीहरुको नियतको पनि नवीकरण गरिएको छ ।
जनताले बुझेको कुरा के हो भने विगत संविधानसभा नेताहरुको नियतका कारणले अकाल मृत्युको मुखमा पुगेको हो । हिजो संविधानसभा मार्नेहरुले नयाँ संविधानसभालाई बाँकी राख्लान् त ? आफैले जन्माएको संविधानसभा मारेर मलामी जाने पात्र र प्रवृत्तिहरु यथावत छन् । त्यसैले नयाँ संविधानसभाको पनि मलामी जान नपर्ला भन्ने ग्यारेन्टी के छ ?
- See more at: http://www.nepalsandesh.com/2013/12/12/59945#sthash.OclUF5yQ.dpuf
No comments:
Post a Comment