- रबिन्द्र श्रेष्ठ
टोकियो, जापान । विदेशमा रहेका नेपाली राजदूतको बास्तविक काम के हो ? राजदूतको काम कार्यक्रममा प्रमुख अतिथि बनेर आसन ग्रहण र भाषण वाचन मात्रै हो कि अरु पनि केही हो ? विदेशमा रहेका नेपालीहरुले यस्तो प्रश्न उठाउन थालेका छन् ।
धेरै संख्यामा नेपाली रहेका विकसित मुलुकहरु जापान, अमेरिका, वेलायत लगायतमा राजदूतलाई नेपालीका संस्थाले गरेका कार्यक्रममा अतिथि बन्न भ्याइनभ्याइ हुन्छ । कार्यकाल सकेर फर्कन लागेका अमेरिकाका लागि नेपाली राजदूत डा शंकर शर्मालाई त्यहाँ विदाइ कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ छ ।
कार्यकाल भरि पनि शर्मालाई नेपाली संस्थाका कार्यक्रममा सहभागी हुन समय पुग्दैनथ्यो, अहिले विदाइ कार्यक्रम भ्याइनभ्याइ भएको छ ।
यता जापानमा पनि दिनहुँजसो जसो कार्यक्रम हुने गर्छ । जापानमा नेपालीका दर्जनौं संस्था छन्, कुनै न कुनै संस्थाले खास अवसर पारेर कार्यक्रम आयोजना गर्छन् । आआफ्नो संस्थाको पहिचान र स्वार्थ अनुकूलका कार्यक्रम गरिनु स्वाभाविक पनि हो । जापानमा हुने यस्ता कार्यक्रमका सदाबहार अतिथि हुन् महामहिम राजदूत मदनकुमार भट्टराई ।
केही वर्ष अघि नेपालमा राजपरिषद थियो र त्यसको अध्यक्ष रहँदा डा केशरजंग रायमाझी यति धेरै कार्यक्रममा प्रमुख अतिथि बनेका थिए कि उनको नाम नै ‘प्रमुख अतिथि’ भइसकेको थियो । धेरै कार्यक्रममा सहभागी भएको भनेर आलोचना गर्दा पनि रायमाझी रिसाउँदैनथे, बरु भन्थे, ‘मेरो केही काम छैन । मेरो काम भनेकै प्रमुख अतिथि बन्नु हो ।’
कार्यकाल सकेपछि रायमाझीले आफू प्रमुख अतिथि बनेको कार्यक्रमको सूची नै सार्वजनिक गरेका थिए । काम नहुने ठूलाबडाले प्रमुख अतिथि बनेर समय कटाउनु नराम्रो नहोला । तर, काम गर्नुपर्नेले बेकामका कार्यक्रममा सहभागी भएर काम देखाउनु र समय कटाउनु चाहिँ राम्रो होइन ।
जापानमा हुने विभिन्न कार्यक्रममा नेपालीले सुखदुःख साट्न पाउँछन्, आपसी भाइचारा र एकता बढ्छ । परदेशमा हुँदा घरको नियास्रो पनि मेटिदिन्छ यस्ता कार्यक्रमले । कार्यक्रममा राजदूत स्वयं आउँदा अभिभावक नै आएको महशुस नेपालीहरुलाई हुनु स्वाभाविक हो ।
जापानमा महामहिम भट्टराई बिनाको कार्यक्रम विरलै हुने गर्छ । जहाँ नेपालीका कार्यक्रम त्यहाँ महामहिम राजदूत । कुनै कार्यक्रमको निम्ता आयो भने बुझे हुन्छ, प्रमुख अतिथि महामहिम भट्टराई नै हुन् ।
तर, राजदूतको पनि आफ्नै समस्या हुन्छन् । कार्यक्रममा गएर पानसमा बत्ती बालेर उद्घाटन गर्ने अनि भाषण गर्ने रहर नेपाली ठूलाबडामा कति हुन्छ भन्ने थाहा भएकै कुरा हो । यस्तो रहर महामहिम राजदूतलाई छैन भन्न मिल्दैन । तर, दिनहुँ चोकै पिच्छे हुने कार्यक्रममा उपस्थिति जनाउनु महामहिम राजदूतको बाध्यता पनि हो ।
दिनहुँका कार्यक्रमले तनाव पनि हूँदो हो, समस्या पनि हूँदो हो । झन कार्यक्रम जुधेको अवस्थामा राजदूतलाई झनै समस्या पर्दाे हो ।
कार्यक्रम आयोजकहरु राजदूत बिनाको कार्यक्रम खल्लो हुने बताउछन् । के राजदूत बिना ठूला कार्यक्रम हुनै नसक्ने हो ? राजदूतको उपस्थिति बिना कार्यक्रम अधुरो र अपुरो हुन्छ ? राजदूत बोलाउनु देखासिकी त हैन ? आफ्नो संस्थाको हैसियत देखाउन, लोकप्रियता कमाउन अनि राजदूतसँग नजिकिएर लाभ लिन खोज्ने प्रवृत्तिले पनि राजदूत बिनाको कार्यक्रम नभएका हुन् कि ? जापानमा हुने विभिन्न कार्यक्रममा नेपालीहरुले यस्ता प्रश्न गरेको सुनिन्छ ।
राजदूतले सिंगो मुलुकको प्रतिनिधित्व गर्छ, राजदूतको ओहोदा र मर्यादाले नेपाल र नेपालीको इज्जत र प्रतिष्ठासँग सरोकार राख्छ । तर, राजदूतलाई कतिपय आरोप पनि लाग्ने गरेको छ । सबै कार्यक्रममा धाउने, नेपालबाट नेता तथा उच्च ओहोदाका व्यक्तिहरु आउँदा उसैको वरिपरि घुम्ने तर नेपालीका समस्यामा भने चासो नदिने । यस्ता गुनासो नौलो रहेनन् अब ।
राजदूतलाई धनीमानी र टाठावाठाले सहजै भेट पाउने तर सर्वसाधारण नेपालीहरुले सहजै भेट नपाउने गुनासो पूरानो गुनासोको अझैसम्म उपचार भएको छैन । बिभिन्न घटनाक्रमले पनि देखाएको छ, अब्यबस्थित कार्यसम्पादन राजदूतावासको निरन्तरका समस्याहरु हुन् । जापानमा राजदूतावास भएर के गर्नु ? कर्मचारीको कार्यशैली भने नेपालकै जस्तो छ भन्ने गुनासा सधैंको हो ।
कार्यलय समयमा फोन नउठ्ने नेपालको सरकारी रोग जापानको दूतावासमा पनि छ । पासपोर्ट बनाउन आउने सेवाग्राहीसँग झर्कने कर्मचारी रोग पनि जापानी दूतावासमा नेपालबाट आएको छ । पासपोर्टको फर्म माग्दा इन्टरनेट बाट लिनु भन्ने कर्मचारीलाई अवश्य थाहा छ, सबै नेपालीले इन्टरनेट चलाउन जान्दैनन् भन्ने । तैपनि फर्म दिने व्यवस्था छैन ।
दूतावासको कार्यशैली नेपाली, कर्मचारी नेपाली अनि कर्मचारीको काम व्यवहार पनि नेपाली भएपछि जापान बसेका नेपालीहरुलाई चित्त दुख्नु स्वाभाविक हो । यस्तो हर्कत नेपाली कर्मचारीबाट भएपछि दवाब स्वरुप राजदूत घेराउका नाउमा कार्यक्रमहरु पनि भए ।
नेपालीका पिरमर्का के छन्, समस्या के छन् भन्ने राजदूतलाई थाहा छैन भन्न मिल्दैन । किनभने दिनहुँजसो विभिन्न कार्यक्रममा गएर राजदूतले नेपालीका कुरा सुनेका छन् । आफ्नै दूतावासमा नेपालीले समस्या भोग्नुपरेका घटनाहरु पनि राजदूतलाई थाहा छ तर समाधान हुँदैन । अनि, कार्यक्रम धाएको उपादेयता के भयो भनी नेपालीले प्रश्न उठाउनु स्वाभाविक हो ।
जापानमा च्याउ सरि खुलेका नेपाली सस्थाहरुलाई ब्यवस्थित गर्न नसक्नु दुतावासको अर्काे कमजोरी हो । जापानमा अरु पनि सस्था खुल्दैछन् । संघसस्था खोल्नु नराम्रो पक्कै हैन तर, अव्यवस्थित तरिकाले संस्था खोल्ने परिपाटीले विकृति विसंगतिका लहरा झाङ्गिदै जाने खतरातर्फ पनि सचेत हुनुपर्छ ।
भएका संस्थाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउने काममा दूतावासले महत्वपूर्ण भूमिका खेल्नसक्छ । तर, कार्यक्रममा प्रमुख अतिथि बनिदिनेभन्दा धेरै भूमिका महामहिम राजदूतबाट निर्वाह नभएको स्पष्ट छ । आवश्यकता र औचित्यका आधारमा मात्र राजदूतले कार्यक्रममा सहभागी बन्ने हो भने राजदूत पदको गरिमा घट्छ र ?
पानसमा बत्ती बालौं तर अन्य काम पनि गरौं । नेपालले प्राथमिकता दिएको र नेपालको नीतिजस्तै बनेको आर्थिक कूटनीतिलाई पनि पानसमा बत्ती बाल्दा सम्झनुपर्छ । कुनै सस्थाका व्यक्तिसंगको निकटताको आधारमा कार्यक्रममा जाने परिपाटि ठीक होइन ।
अर्काे कुरा, कार्यक्रममा आउँदै नआउनु तर आएपछि कार्यक्रम नसकिदै बाहिरिनु शोभनीय हुँदैन । प्रमुख अतिथि नै हिँडेपछि कार्यक्रम कस्तो हुन्छ होला ? यसो गर्नु एक किसिमले उपस्थितहरुको अपमान पनि हो ।
सबै संघ सस्थाका प्रमुखलाई प्रतिनिधित्व गराई कार्यक्रमहरुमा एकरुपता ल्याउन पनि राजदूतले पहल गर्नुपर्ने देखिन्छ । अव्यबस्थित तरिकाले खुल्ने सस्थाहरुको पहिचान गर्न सकिएन, झोला या ल्यापटपमा सीमित संस्था र बास्तविक संस्था पनि दूतावासले पहिचान गर्न जरुरी देखिन्छ ।
फेरि पनि लेखौं, भ्याईनभ्याई कार्यक्रममा उपस्थिति जनाउनु राजदूत भट्टराईको बाध्यता पनि हो । यस्तो बाध्यात्मक स्थितिबाट महामहिम राजदूत आफैंले मुक्ति खोज्नुपर्छ । आफ्नै कारण कार्यक्रममा उपस्थिति जनाउन भ्याई नभ्याई बनेको नयाँ बर्ष कार्यक्रम करलिम समाज, मगर जातिको लाङ्घाली साँझ भोलि पल्ट गल्कोट समाज र तमु धीँ को कार्यक्रमको सहभागिताले पनि पुष्टि गर्दछ ।
नेपालको राजपरिषद अध्यक्ष होइन जापानको राजदूत हो भन्ने अनूभूति गराउने काम दूतावास र महामहिम राजदूत स्वयंको होइन र ?
श्रोत:- नेपाल सन्देश डट कम

No comments:
Post a Comment