Tuesday, August 20, 2013

एनआरएनलाई ”एनारन”को उपमा किन ?

रविन्द्र श्रेष्ठ । गैर आवसीय नेपाली संघ (एनआरएन) लाई जापानमा ”एनारान” भनेर उडाउने गरेको सुन्न पाईन्छ । सुरुमा एन आर एन लाई सम्मानकै दृष्टिले हेरिएको भए पनि अहिले जापानमा यो संस्थालाई हाँसो मजाकको विषय पनि बनाएको पाईन्छ । एन आर एन लाई ”एनारान” भन्नुको अर्थ आर्थिक अपारदर्शिता, अविश्वास र गरिएको प्रतिबद्धता पुरा नगर्ने चलनका कारण यसलाई ”एनारन” भन्न थालिएको टिप्पणी हुने गरेको छ ।

सामान्य बुझाईमा एनआरएन भनेको बैदेशिक रोजगारिका क्रममा विदेशीएका र बिदेशीसंग घरजम गरि विदेशको नागरिकता लिई बसेकाहरुको समुह हो ।

नेपालमा एनआरएन लाई नेपालीहरुले नेपालमा बैदेशिक लगानी भित्राउन सक्ने सक्षम संस्थाको रुपमा बुझ्ने गर्छन् । तर, पछिल्लो समय चुनावका बेला ठूलो गफ दिने तर काम नहुने कारणले यस संस्थाप्रति जनमानसमा शंका उब्जनु स्वाभाविक पनि हो ।

नेपालमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सक्ने एन आर एनका प्रतिनीधिहरुको तर्क छ । तर्क सबैका आफ्नै होलान् तर बुझाई र गराईमा अन्तर पर्नाले जनविश्वास जितिनसकेको भने पक्का हो ।
हुन त कुनै पनि संस्थाले गफ दिने तर त्यसै अनुसार चलायमान नहुँदा विवाद शंकाहरु आउनु स्वाभाविक हो । विवाद रहित  संस्था सबै हुन्छन् भन्ने पनि छैन । यद्धपी यस्ता विवादका बीचबाट आशा देखाउने हो भने बल्ल संस्थाले गति पाउने सम्भावना हुन्छ ।

समस्या आएको खण्डमा समाधान दिने प्रयास पनि गर्नुपर्छ । अनि मात्रै विश्वास बढ्न सक्छ । यति हुँदा हुँदै सुरुमा उल्लेख गरिए झै एनआरएन ‘एनारान अर्थात नगद नारायण’ को उपमा किन पायो र यसरी किन यसको चर्चा भयो भन्ने विषयमा केही प्रसंग उल्लेख गर्न आवश्यक छ l

एन आर एन अर्थात ‘एनारन’
कुनै पनि संस्थालाई गालि गलौज, उपमा, तिरस्कार साथै प्रेरणाको श्रोत मान्नुलाई अन्यथा लिनु हुन्न ।  त्यस भित्र चल्ने वहस र निर्णयहरु जनताको हितमा हुनु पर्छ भन्ने विषय महत्वपूर्ण हो ।  समस्याहरुलाई नजर अन्दाज गरेर  व्याख्या विश्लेषण गर्न थालियो भने सत्यता बाहिर आउँदैन । 

सत्य भित्र तितो यथार्थ पनि हुने गर्छ त्यसलाई कुन कोणबाट हेर्ने भन्ने मुख्य बिषय बस्तु हुन सक्छ । सामान्य रुपमा बुझ्दा एनआरएन लाई आर्थिक अनियमितता हुनुका कारण ”एनारन” भनिएको भन्ने बजारमा चर्चा छ । आर्थिक अनियमितता गरेर अकुत सम्पति कमाउने गरेका कारण जनविश्वास घटेको बताउँछन्, यसमा आक्रोश पोख्ने जानकारहरु  ।

मिथ्या आरोप मात्र हुन वा साच्चै एनआरएन भित्र ‘नगद नारायण’को चलखेल गतिलो हुन्छ उनै जानुन् । प्रसंग यति मात्र कोट्याउँन खोजिएको हो कि किन उपमाले स्थान पायो ? किन जनविश्वास जित्न सकेन ? भन्ने कुरा प्राथमिकताका बिषय हुन् । र, आगामी दिनमा यसले भ्रम चिर्न सक्छ वा सक्दैन भन्ने बारे अहिल्यै भन्न सक्ने अवस्था छैन ।

जापान, एन आर एन र जनविश्वास
जापानमा एनआरएन प्रति विशेष गरेर व्यवसायी आकर्षित हुने गरेका छन् । लागानीका हिसाबले आकर्षित हुन खोजे पनि यसको प्रतिफल पाएको देखिदैन । आफ्नो पेशा व्यवसायलाई सन्तुलनमा ल्याउन प्रचारात्मक ठाँउको रुपमा पनि एन आर एन लाई लिने गरिएको व्याख्या विश्लेषण जानकारहरुले गर्ने गरेका छन् ।

त्यसकारण जापानमा अन्य भिसाका बिद्यार्थी, कुक लगायत अन्य क्षेत्रमा रहेकाहरु आकर्षित हुन नसकेको प्रष्ट छ । यि क्षेत्रका मानिस किन आकर्षित हुन सकिरहेका छैनन् ? के कति कारणले ध्यान पुर्याउन सकेका छैनन्, आगामी दिनमा यसको समिक्षा गर्न आवश्यक छ ।

अन्यथा एनआरएन लाई लगानी कर्ता कै रुपमा बुझिने छ र विदेशको ठाउँमा दुख सुख गरि बस्ने नेपालीहरु माझ स्थापित हुन गाह्रो छ । यसले नेपालमा पनि एनआरएनलाई स्थापित गर्न हम्मे पर्ने छ । जापानको हकमा केहि बिश्वास गुमाएता पनि बिश्वास जित्न सक्ने आशाका मूलहरु छन् भन्नेहरु पनि भेटिन्छन् भने विरोध गर्नेहरुको त हुल नै छ ।

नभुझ्नेलाई बुझाउने, बुझ्न चाहनेलाई बुझाउन सक्ने र बुझेकाहरुलाई अझ बुझाउदै लामबद्ध गर्न सके यसको सार्थकता प्रमाणित हुनेछ । नत्र सिमित व्यक्तिको स्वार्थ र र मोलमोलाई मै रुमल्लिनेछ ।

नेपालमा एन आर एनको अवस्था
जापानमा जस्तै एनआरएनले नेपालमा पनि विश्वास जितिसकेको छैन । राजनीतिक दलका र नेताको ढोका ढक ढकाउन पुग्ने एन आर एन अगुवाहरु प्रसस्तै छन् ।

 राजनीतिक शक्तिको आडमा  एन आर एनको सदस्यता लिएकाहरुले समेत यसको महत्व राजनीतिक दलका नेताहरुलाई बुझाउन सकेका छैनन् र नेपालमा दर्ता र लगानीको सुनिश्चितता गर्न सकेका छैनन् । अझ भनौ सरकारी स्तरमा यसको साख बढ्ने हैन घट्दो छ । विशुद्ध नाफा मूलक रहेकै कारण पनि यसको साख गिरेको हुन सक्छ ।

जनविश्वास जित्न ध्यान दिने भन्दा लगानी र मुनाफाको हिसाब किताबमा औला भाँच्दै हिड्नुले पनि  नेपालमा एन आर एनले  स्थान नपाएको सरकारी स्तरका मान्छेहरुको कथन छ ।

सबैको साझा बनाउन प्रयत्न गर्दै  लागानीको हिसाबले संगठित हुदै नेपालमा दबाब सृजना गरि राजनैतिक दल र सरकारको बिश्वास जित्न पहल गर्नुपर्छ । अन्यथा भिरबाट लड्नेलाई राम राम भन्न सकिन्छ काध थाप्न सकिन्न भन्ने उखानले एन आर एनको ठाँउमा स्थान पाउने छ ।

No comments:

Post a Comment