Wednesday, May 1, 2013

नेपाली पत्रकारिता, बाढी र चमत्कार

पहिलोपल्ट आफ्नै पेशा अथवा पत्रकारिताको कुरा गरौं, त्यो पनि एउटा बासी “जोक”बाट। नेपालको पत्रकारिताबारे दुई दशक अघि चलेको “जोक” यस्तो छ।  
हाईस्कूल अथवा कलेज पढ्दा कविता, कथा वा निबन्ध नलेख्ने वा कुनै न कुनै सिर्जना नगर्ने मानिस विरलै हुन्छन्। केही नलेख्ने मान्छेले पनि कलेज जीवनमा पे्रमिकालाई लेख्ने पत्रमा त कवित्व झल्काउँछ। तर, हाईस्कूल छोडेपछि वा कलेजको पढाई सकेपछि कथा, कविता लेख्ने वा सिर्जनामा रमाउने मानिस तीन श्रेणीमा बाडिन्छन् ।
पहिलो श्रेणीकाहरु जागिर, ब्यापार, व्यवसायमा लाग्छन्। खेतीपाती गर्छन्। पैसा कमाउँछन्, घरमा रमाउँछन्। उनीहरुको जीवन सुखी हुन्छ। दोस्रो श्रेणीमा त्यस्ता मानिस पर्छन्, जो लेखनलाई जीवनको अंग बनाउँछन्। साँच्चै राम्रोसित लेख्न थाल्छन्। कथाकार, कवि, उपन्यासकार भएर नाम कमाउँछन्, सम्मान आर्जन गर्छन्। त्यसैमा रमाउँछन् र सन्तुष्ट जीवन बाँच्छन् ।  


तर हाईस्कूल र कलेजको पढाई सक्दा बीचमा यस्ता मानिस बाँकी रहन्छन् जो न राम्रो कविता, उपन्यास वा अरु सिर्जना गरेर नाम र सम्मान कमाउने हैसियत राख्छन्, न त जागीर, व्यापार, व्यवसाय वा खेतीपातीमा बाधिँएर परिवारमा रमाउँछन्। नलेखि नसक्ने र कतै पनि नबाधिने यो श्रेणीका मानिस यता र उता गर्दै जाँदा पछि पत्रकार बन्छन्। अनि बिहानै घरबाट हिड्छन्, अबेला घर फर्किन्छन्। सधै ब्यस्त हुन्छन्, तर न नाम हुन्छ, न दाम हुन्छ, न त जिन्दगी सन्तुष्ट नै हुन्छ ।

“जोक” यत्ति नै हो। दुई दशक अघिको नेपालमा यो “जोक” जोक थिएन, यथार्थ थियो। तर बितेका दुई दशकमा नेपाल धरै बद्लियो। राजनीतिक ब्यवस्थासँगै बदलियो पत्रकार र पत्रिकारिताको दायरा पनि। पत्रपत्रिकाहरु बढे, धेरै रेडियो र टेलिभिजन खुले। पढ्ने, सुन्ने र हेर्ने सामग्री कता हो कता बढ्यो। तर, सञ्चार गर्ने माध्यम र तिनको संख्या बढे जस्तो पढ्ने, सुन्ने र हेर्ने सामग्रीको स्तर र विविधता बढेन। त्यसैले, आज यो पेशामा नाम र दाम त छ तर सम्मान छैन। किन यस्तो भयो भनेर घोत्लिदा सूची लामै हुन्छ। तर, जसरी जतिवटा सूची तयार पारे पनि एउटा बुँदा चै पत्रकारिता र पत्रकारको धर्म अथवा सत्य, तथ्य र बस्तुनिष्ठ सूचना र समाचारको प्रवाहसित जोडिन्छ।

प्रवाह पनि कस्तो भने नेपालको पत्रकारिता र बर्षाको भेलबीच धेरै समानता छन्। बर्षा लागेपछि जताततै पानी र बाढी देखिए जस्तै नेपालको पत्रकारितामा आउने बिषयहरु बाढी जस्ता हुन्छन्। विमानमा मुसा भेटिएपछि टीभि, रेडियो र पत्रपत्रिका सबै मुसामय, जता पनि मुसा! कुहिएका मिठाईको समाचार आउन थालेपछि रेडियो सुन्दा रेडियो गन्हाउने, टिभी हेर्‍यो दिंगमिंग लाग्ने! पत्रपत्रिका पढ्दा वान्तै होला जस्तो हुने! जता हेर्‍यो त्यतै राम जस्तो सबैतिर कुहिएका र सडे गलेका मात्रै खाद्य पदार्थ। हुँदा हुँदा आजकाल खाना खाने बेला पत्रिका पढ्न नपरोस्, टिभी हेर्न नपरोस् र रेडियो सुन्न नपरोस् भन्ने अवस्था आएको छ। कुहेका मिठाईले ल्याउने रोगब्याधिभन्दा चर्को आँधीहुरी हाम्रा मिडियाले खडा गरिदिन्छन्। तर, पढ्दा, हेर्दा र सुन्दा न छेउ बुझन्छ, न टुप्पो। हाम्रो पत्रकारितामा बर्षा लागेपछि जताततै पानी पानी र हिउँद लागेपछि जताततै रुखा डाडा देखिए जस्तै दृश्य हरेक साता नयाँ नयाँ बिषयका साथ सातैपिच्छे उदाउँछ र सातै पिच्छे अस्ताएर जान्छ। कुहेको मिठाई, बाख्रीको मासु, बिषाक्त रक्सी र अखाद्य फलफुल बेच्ने त हिजो पनि थिए, पछि पनि यस्तो काम सतप्रतिशत रोकिनेवाला छैन। तर, हाम्रो पत्रकारिता यो कुरा अरुले देखाएपछि मात्रै थाहा पाउँछ, आफै खोज्न धेरै मेहनत गर्दैन।

समाज विज्ञानका अध्येताहरु नेपाली समाज चमत्कारमा बिश्वास गर्छ भन्छन्। समाजले झै हाम्रो पत्रकारिताले पनि चमत्कारमा विश्वास गर्छ। प्रच48ड प्रधानमन्त्री हुँदा हाम्रा मिडिया उहाँले गर्ने “चमत्कार”कै मात्र कुरामा भुलिए। झलनाथ प्रधानमन्त्री भएपछि कुरा आयो “अर्जुनदृष्टि”को मानौं अर्जुनदृष्टिमा पनि चमत्कारै छ! डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि हाम्रा मिडियाले उहाँलाई दैविक बनाएका छन्। मानौ उहाँले रातारात कालोलाई सेतो र सेतोलाई कालो बनाउन सक्नुहुन्छ। हुँदाहुँदा प्रधानमन्त्री तेस्रो श्रेणीको टिकटमा बिमान चढेर न्युयोर्क जाँदा त्यसै पनि खस्किसकेको नेपाल र नेपालीको अन्तराष्ट्रिय छवि र सम्मान कहाँ पुग्ला भनेर प्रश्न गर्दैनन्। बरु मुस्तांग गाडी चढेर न्यूयोर्क पुग्ने कुरा गरे “अहा! क्या बात प्रधानमन्त्री!!” भन्न बेर मान्दैनन्। 

तीन दशक यो पेशामा बिताएको, अरु कुनै पेशा वा व्यवसायमा कुनै दखल नभएको र भविष्यमा पनि यसै पेशामा जिउनुपर्ने म जस्ता मानिसका लागि यस्ता कुरा खुब बिझाउँछन्। तर पहिले भन्ने गरेको जोक अब साँच्चै नै बासी भैसक्यो र नयाँ “जोक” जन्मेको छैन। त्यसैले, अध्यारोमा पनि उज्यालोको खोजी त गर्नै पर्‍यो।
ujyalo

No comments:

Post a Comment