Friday, May 3, 2013

इतिहासमा भएका कमी-कमजोरीहरुबाट सिक्नुपर्छ

नेपाली कम्युनिस्टहरु "इतिहासमा भएका कमी-कमजोरीहरुबाट सिक्नुपर्छ" भन्ने गर्छन। तर त्यो कुरा कागजमा मात्र सिमित हुन्छ, व्यवहारमा लागु हुदैन। यसैको अघिल्लो एउटा उदाहरण म प्रस्तुत गर्न चाहन्छु। अहिले नेपाली कम्युनिस्टहरु एक अर्कालाई फासीवादी र "सामाजिक फासीवादी" को आरोप लगाउदै हिडिरहेका छन्। केहि समय अगाडि नेकपा(मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बाबुराम भट्टराईको सरकारलाई र एकीकृत माओवादी पार्टीलाई "सामजिक फासीवादी" भएको आरोप लगाएको सुन्नमा आयो। त्यस्तै, क. किरणको नेतृत्वमा रहेको नेकपा-माओवादीबाट पनि हामीले यस्तै कुरा सुन्यौं। हामीकहाँ फासीवाद भन्ने शब्द एकदमै हल्का रूपमा प्रयोग गर्ने गरेको पाइन्छ। कुनै पनि कठोर, अधिनायकवादी, सर्वसत्तावादी व्यक्ति अथवा नेतालाई हामीले "फासीवादी" भनेर भन्ने गर्छौं। जनयुद्धको बेला पनि हामीले माओवादीले कहिले गिरिजाप्रसाद कोइरालालाई त कहिले ज्ञानेन्द्रलाई "फासिष्ट" भनेर सम्बोधन गरेको पायौ। तर के उनीहरु साँच्चिकै फासीवादी थिए त? यो कुरा थाहा पाउन हामीले फासीवादको जरैसम्म पुग्न जरूरी छ। हामीसंग मार्क्सवादको रूपमा एउटा यस्तो दरिलो हतियार छ जसको माध्यमबाट हामी जुनसुकै कुराको पनि सटिक विश्लेषण गर्न सक्छौ। यस्तै फासीवादको पनि एकमात्र सटिक मार्क्सवादी विश्लेषण गरेका थिए महान क्रान्तिकारी क. लिओन ट्रट्स्कीले।


फासीवादको जननी भनेर इटालीलाई चिनिन्छ। त्यहाँ बेनिटो मुसोलिनीले फासीवादको सुरुवात गरेका थिए। त्यसैलाई पछ्याउदै हिटलरले जर्मनीमा र जनरल फ्रान्कोले स्पेनमा फासीवादी शासन लादेका थिए। तर फासिवाद र अन्य तानाशाही व्यवस्थाहरुकोबीच केहि गहिरो भिन्नता भन्ने अवश्य नै छ। फासीवादको वर्गीय चरित्र के हो त? फासीवाद भनेको मुलत: एक निम्न-पुँजीपतिवर्गमा आधारित व्यवस्था हो। यस आन्दोलन ठूला पुँजीपतिद्वारा निर्देशित, संचालित र आर्थिक रूपमा सहयोग गरिएको हुन्छ। यस आन्दोलनका मुख्य वर्गहरु निम्न-पुँजीपति, आवारावर्ग तथा केहि हदसम्म सर्वहारावर्गका पनि केहि तप्का सामेल भएका हुन्छन। यस आन्दोलनले जरा गाड्ने समय भनेको त्यसबेला हो, जब पुँजीवाद गहिरो आर्थिक संकटबाट गुज्रिरहेको हुन्छ। यस्ता आर्थिक संकटहरुबाट सबैभन्दा बढी पिरोलिने भनेको सर्वहारावर्ग नै हुन्छन। त्यसकारण उनीहरुलाई आकर्षित गर्न फासीवादिहरुले समाजवादी शब्दावलीलाई पनि प्रयोग गरेका हुन्छन। इटालीका मुसोलिनी त पहिला समाजवादी नै थिए भने हिटलरले पनि आफ्नो पार्टीको नाममा 'समाजवाद' शब्द जोडेको थियो।

फासीवादको उदय कस्तो अवस्थामा हुन्छ त? र यसको वर्गीय स्वरूप कस्तो हुन्छ? मैले पहिले भने जस्तै फासीवादले खेल्न ठाउँ पाउने भनेको गहिरो आर्थिक मन्दी तथा आर्थिक संकटको बेला हो, जस्तै अहिलेको अवस्था छ। यस्ता आर्थिक संकटको बेला पुँजीवादको वास्तविक रुप सर्वहारावर्गले देख्न पाउछन। आर्थिक संकटले आफुसंगै बेरोजगारी, दरिद्रता, समस्याहरुमात्र लिएर आउँछ। फलस्वरूप सर्वहारावर्गले यसको विरुद्ध संघर्ष गर्न थाल्छन। सर्वहारावर्गको बढ्दो शक्ति देखेर बुर्जुवावर्ग तर्सिन थाल्छन र जसरि हुन्छ क्रान्तिकारी आन्दोलनलाई दबाउन तिर लाग्छन। तर जब उनीहरुको केहि लाग्दैन, त्यसबेला अन्तिम विकल्पस्वरूप उनीहरुले शासन-सत्ता निम्न-पुँजीपति वर्गको हातमा थमाइदिन्छन। र फलस्वरूप सर्वहारावर्गलाई ठेगान लगाउन एउटा तानाशाह आइपुग्छ। जस्तै, हिटलर, मुसोलिनी आदि।

त्यस्तै, फासीवादको विजयको निम्ति अर्को अवस्था भनेको त्यसबेला हो जब आर्थिक संकटहरुको बेला कम्युनिस्ट पार्टीहरुले सर्वहारावर्गको आन्दोलनको नेतृत्व गर्न र सर्वहारावर्गको अन्तिम लडाई जितेर उनीहरुको राज्यसत्ताको स्थापना गर्न असक्षम हुन्छन। यी दुई अवस्थाको आधारमा मात्रै फासीवादको विजय हुन्छ। एकपटक फेरी भन्नु पर्दा, फासीवादको उदयहुनुको पछाडीको मुख्य कारण र अवस्थाहरु यस प्रकार छन्:
१) पुँजीवाद गहिरो आर्थिक संकटमा गुज्रिरहेको बेला पुजीपतिहरुले सर्वहारावर्गको दवाबको कारण आफ्नो सत्ता बचाउन अन्तिम प्रयास स्वरूप निम्न-पुँजीपतिको हातमा सत्ता सुम्पिनु 
२) सर्वहारावर्गको पार्टीले पुँजीवाद विरुद्धकोको संघर्षलाई अन्तिम निष्कर्षमा पुर्याई सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्न नसक्नु

अन्य अधिनायकवादी व्यवस्था, जस्तै सैन्य अधिनायकवाद र फासीवादी व्यवस्थामा फरक भने अवश्यै छ। अन्य तानाशाही व्यवस्थामा जनताको साथ् हुदैन तर फासीवादी व्यावास्थामा भने क्रान्तिकारी पार्टीले धोका दिएको कारणले, क्रान्तिकारी पार्टीले उत्पीडित जनतालाई विजयसम्म पुर्याउन नसकेकोले जनता फासीवादतर्फ आकर्षित हुन पुग्छन र यसप्रकार फासीवादी आन्दोलन एउटा 'मास' आन्दोलन बन्न पुग्छ। अन्य तानाशाही व्यवस्था र फासीवादी व्यवस्थाबीचको मुख्य भिन्नता भनेको यहि नै हो। 

इटालीमा त्यहाँको सुधारवादी पार्टीले गर्दा कम्युनिस्टहरुले निर्णायक भूमिका खेल्न पाएनन्। जर्मनीमा भने स्टालिनको निर्देशन अनुसार चल्ने कम्युनिस्ट पार्टी र मुख्यत: स्टालिनले दिएका गलत निर्देशनहरु नै मुख्य कारणहरु हुन्। स्टालिन र उनको निर्देशनमा चल्ने कामिन्टर्न(कम्युनिस्ट अन्तरराष्ट्रिय संगठन) ले जर्मनीमा उग्र-वाम नीति लिएको थियो। स्टालिनले जर्मन कम्युनिस्ट पार्टीलाई यस्तो निर्देशन दिएको थियो, जसले गर्दा उक्त पार्टीले प्रधान शत्रु हिटलरलाई होइन, बरु त्यहाँको सामाजिक जनवादी पार्टीलाई मान्यो। बरु उल्टै सामाजिक जनवादी पार्टीलाई "सामाजिक फासिवादी" घोषणा गरियो। फासीवाद र सामाजिक जनवाद भनेको जुम्ल्याहा हुन् भनेर घोषणा गरियो। सामाजिक जनवादी पार्टी एउटा सुधारवादी पार्टी भएता पनि उसंग लाखौँ मजदुरहरु आबद्ध थिए। त्यसकारण उक्त समयमा फासिवादलाई हराउन मजदुरहरुको एकीकृत मोर्चाको आवश्यकता थियो। यस्तै सुझाव लिओन ट्रट्स्कीले दिएका थिए। तर त्यसबेला उनलाई स्टालिनले निर्वासित बनाइसकेको थियो। झन् स्टालिनले ट्रट्स्कीको कुरा सुन्ने त कुरै भएन। त्यसो गर्दा जर्मन सर्वहारावर्ग विभाजित भयो र हिटलर आरामले सत्तामा पुग्न सफल भयो। त्यसो भएपछि बल्ल स्टालिन निद्राबाट ब्युँझियो र उसले एकीकृत मोर्चा बनाउने आदेश दियो। तर त्यसबेलासम्म धेरै ढिला भैसकेको थियो। सत्तामा पुगिसकेपछि हिटलरले लाखौ जर्मन कम्युनिस्टहरुको हत्या गर्यो। त्यसपछि स्टालिनले फासीवादसंग लड्नु त कहाँ हो कहाँ, बरु उल्टै हिटलर संग मैत्री तथा आर्थिक सम्झौता गर्न पुग्यो। उक्त सम्झौता अनुसार युरोपलाई सोभियत प्रभाव र जर्मन प्रभाव गरि दुइ भाग लगाइयो। त्यसपछि हिटलरले आफ्नो नियन्त्रणमा परेको युरोपको भागहरुमा कम्युनिस्टहरुको नरसंहार गर्यो। उक्त सम्झौताअनुसार नै हजारौं जर्मन कम्युनिस्टहरु, जो हिटलरबाट बच्न रुसमा पुगेका थिए, उनीहरुलाई जर्मनी फिर्ता पठाइयो। त्यहाँ उनीहरुको के हाल भयो होला, त्यो कल्पना मात्र गर्दा पनि अंग सिरिङ्ग भएर आउँछ।

त्यस्तै, स्टालिन र त्यसबखतको कमिण्टर्नले जर्मनीको सामाजिक जनवादी पार्टीलाई  "सामाजिक फासीवादी" भनेर यसरि व्याख्या गरेका थिए- "नामले समाजवादी तर कामले फासिवादी।" तर यो विश्लेषण न त द्वन्दात्मक भौतिकवादमा आधारित थियो, न त मार्क्सवादको कुनै आहारभूत सिद्धान्तमा नै। यो कुरा त इतिहासले नै सावित गरिसक्यो। 

फासीवाद के हो भन्ने बारे एउटा गहन मार्क्सवादी विश्लेषण क. लिओन ट्रट्स्कीले मात्र गरेका छन्। यो विश्लेषण उनले हिटलर उदय हुनुभन्दा धेरै अगाडी देखि नै गरेका थिए, जब इटालीमा मुसोलिनीको उदय भयो। यहि विश्लेषणअनुसार उनले जर्मनीमा फासीवादको उदय हुदैछ र त्यसको विरुद्ध कसरि लड्ने भनेर पूर्व-सूचना पटक-पटक दिएका थिए। तर उनको कुरा स्टालिनले सुनेन। बाँकी कुरा त इतिहास नै भैहाल्यो।

ट्रट्स्कीको अनुसार मैले अगाडी लेखेजस्तै, फासिवादको उदयको लागि दुइ प्रमुख कारण/अवस्थाहरु हुन्छन। यी दुई कारणहरुको मेल भएपछि फासीवादको उदय हुन्छ। अहिले हामीले हेर्यौ भने गहिरो आर्थिक संकटबाट गुज्रिरहेको देश ग्रीसको अवस्था पनि यस्तै छ जहा त्यहाँको सुधारवादी पार्टीको कारणले सर्वहारावर्गले निर्णायक हस्तक्षेप गर्न सकिरहेको छैन। यसैको फाइदा उठाई त्यहाँ 'गोल्डेन डन'(सुनौलो बिहानी) नामक फासिवादी पार्टीले जरा गाडिसकेको छ। मार्क्सवाद यस्तो वैज्ञानिक दर्शनशास्त्र हो जसले अहिले पनि कुनै कुराको सटिक विश्लेषण गर्न मद्दत पुर्याउछ। ट्रट्स्कीले गरेको त्यस्तै मार्क्सवादी विश्लेषण अहिले पनि लागु हुन्छ। यो कुरा हामीले अहिलेको ग्रीसको अवस्थालाई राम्रोसंग हेर्यौ भने थाहा हुन्छ। 

 नेपालको अहिलेको अवस्था पनि त्यस्तै छ। कम्युनिस्ट पार्टीले सर्वहारावर्गलाई सत्तामा पुर्याउन असफल भएको छ, तर उनीहरुको अहिले पनि ठूलो प्रभाव छ। त्यसैको डरले गर्दा अब पुजीपतिवर्ग तानाशाहको खोजीमा लागिरहेका छन्। उनीहरुले यस्ता तानाशाह सैनिक जनरल, धार्मिक कट्टरपन्थी(जस्तै शिव सेना नेपाल)तथा राजावादी(राप्रपा नेपाल)हरुमा भेट्टाउछन्। त्यसैको परिणामस्वरूप केहि समयअगाडी ब्याङ्कर अनिल शाहको यो एउटा लेख कान्तिपुरमा छापिएको थियो। कृपया पढ्नुहोला साथै त्यसको चिरफार गर्दै झलक सुबेदीले लेख्नुभएको अर्को लेख पनि छ, त्यो पनि पढ्नु होला। (लिंक तल दिईएको छ) उक्त लेखमा उनले खुल्ला रूपमा एउटा "उदार" तानाशाहको खोजी  गरिरहेका छन्।

झलक सुबेदी आफ्नो लेखमा लेख्नुहुन्छ, " गत सोमबारको कान्तिपुरमा 'उदार तानाशाहको खोजी' शीर्षक आफ्नो लेखमा बैंकर्स अनिल शाहले नेपालमा पनि एउटा निर्वाचित उदार तानाशाह चाहिएको तर्क गर्दै मानिसहरूलाई तत्काल त्यस्तो तानाशाही स्थापना गर्ने प्रयास थाल्न आह्वान गरेका छन् । उनको अन्तिम वाक्यले भन्छ- यदि यस्तो प्रयास छिट्टै नगर्ने हो भने अनिर्वाचित तानशाह जन्मनेचाहिं निश्चित छ । समाजमा एकजना सुकिलो अनुहारको सबैले पत्याएको बौद्धिक र बैंकर्सको छवि बनाएका 'श्रीमान अनिल शाह'को यो भनाइ यत्तिकै लहडमा आएको होइन । यस पछाडिको अर्थ-राजनीतिक सन्दर्भ र टर्कीका सन्दर्भमा ओर्हान कमालले भनेजस्तो सांस्कृतिक आधार दुवै पृष्ठभूमि नेपालमा विद्यमान छ । यसलाई छिट्टै ध्वस्त नपार्ने हो भने अनिलले भनेजस्तो उदार (क्यामोफ्ल्याज गरिएको) या फासिस्ट (हाकाहाकी) अनुहारको तानाशाहको सामना गर्नुपर्ने खतरा छ।"

"अहिले नेपालको राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय नागरिकहरूको मुख्य हिस्सा पञ्चायतकालमा हुर्के-बढेको र पढेको तप्का हो । २०३६ देखि यताका क्रान्ति या जनआन्दोलनहरूको प्रमुख चालक शक्तिका रूपमा २०१७ सालको ठिक्क अगाडि या पछाडि जन्मेर त्यसयता विद्यालय र विश्वविद्यालयमा पढे-हुर्केको समूह भए पनि सामाजिक जीवनका विभिन्न तहमा सक्रिय प्रायः सबै मान्छेहरू यस्ता आन्दोलनमा सहभागी थिएनन् । तिनीहरू यात राजाको तबेलामा दानापानी खाइरहका थिए या राजाको छायामा बसेर आर्थिक क्रियाकलाप, सामाजिक संघ-संस्था, सांस्कृतिक क्षेत्र तथा फौजी, गैरफौजी जागिर-नोकरीमा सक्रिय थिए । एउटा सीमित वर्गले त्यसबाट मज्जाले फाइदा पनि लिएको थियो । त्यो वर्ग र तप्का २०४६ को आन्दोलन र बहुदलीय संसदीय व्यवस्थाप्रति असन्तुष्ट थियो, २०६३ को आन्दोलनप्रति असहमत थियो, त्यस अघिको माओवादी सशस्त्र विद्रोहको त विरोधी हुने नै भयो ।
बहुदलीयकाल या पछिको गणतन्त्रकालमा त्यसले आफ्नो व्यापार-व्यवसाय या उन्नति तरक्कीका लागि अनेक प्रकारले राजनीतिक दलहरूसँग व्यक्तिगत सम्झौता, दान-दातव्य र लेनदेन गरेको भए पनि त्यसलाई यो अवधिमा भएको परिवर्तन पटक्कै मनपरेको थिएन । कता-कता जिल्ला र देहातका मैला-धैला, पुरानो सम्भ्रान्त वर्गसँग कुनै साइनो नभएका, बस-टेम्पो चढेर हिँड्ने, डेरा लिएर बस्ने र राम्रोसँग चम्चाले खान पनि नजान्ने, पान खाएर भित्तामा पिच्च थुक्ने र भात खाएर डकार्ने 'असभ्य'हरूको जमात सम्भ्रान्तहरूका लागि स्विकार्य थिएन । संविधानसभाको निर्वाचनबाट सभासद् हुन आएका बहुरंगी सर्वसाधारण मान्छेहरू त उनीहरूका निम्ति हाँसोका पात्र थिए ।"

"जब संविधानसभामा जानुअघि समानुपातिक निर्वाचन प्रणाली, मधेस, जनजाति, दलित आदिका नाममा अनेक थरीका शक्तिहरूले विस्तारै पुराना संसदवादीहरूलाई समेत विस्थापित गर्न थाले, अनि यो वर्ग नेपाली कांग्रेस र एमालेका नेताहरूको निकट हुने प्रयास गर्‍यो । उनीहरू कमसेकम २०४७ यताका वर्षमा सहरिया भएका थिए, खान-लाउन र गाडी चढ्न सिकेका थिए तथा विस्तारै तिनीहरूको वर्गोत्थान भएर यताकासँग नारिन मिल्ने भएका थिए । तर यो चार वर्षमा नेपाली कांग्रेस र नेकपा एमालेले पनि सार्थक हस्तक्षेप गर्न सकेनन् । तिनका प्रभाव, तिनका धम्की, तिनका अभिनय केहीले पनि सम्भ्रान्त वर्गका चाहनाहरूको संरक्षण गर्न सकेन । संघीयतामा नगई नहुने, त्यो पनि पहिचानसहितको भन्ने अवधारणा बलियो हुँदै गयो । साधन-स्रोतको पुनःवितरणको माग चर्कियो।"  

"पुराना सम्भ्रान्तहरूलाई लाग्यो- सबै 'मूर्खहरू' अधिकार चाहियो पो भन्दैछन् ! समाज असुरक्षित बन्दै गएको छ । औद्योगिक लगानीबाट प्रतिफलको आशा पनि उत्साहजनक छैन । मजदुरहरू हड्ताल गर्छन् । गुन्डा, डन, मजदुर युनियन, राजनीतिक दलका भ्रातृ संगठन, राजनीतिकर्मी सबै चन्दा, असुली, हप्तावारी या धम्कीका भरमा यही वर्गसँग पैसा निचोरेर बाँच्न पल्केका छन् । राजनीतिक दलहरू तिनैको संरक्षण गर्छन् । प्रहरी कानुन पालना गराउन असक्षम बन्दै गएको छ । विद्युत आपूर्ति, खानेपानीको व्यवस्था, डिजेल, पेट्रोलको निर्वाध र सहज आपूर्ति, रात्रि जीवनको सहजता, बन्द र हड्तालरहित समय, छुट्टी मनाउने पर्याप्त सुरक्षित गन्तव्य अहिलेको मध्यम वर्ग र सम्भ्रान्तहरूको रुचि हो । विश्व घुम्दा अरु विकसित देशमा त्यही उपलब्ध छ । यता यो वर्गसँग त्यसका लागि साधान छ, स्रोत छ र समय छ । तर देशभित्र त्यो सुविधा गायव छ । उसका लागि यो असह्य बन्दै गएको छ ।"


"अहिले सम्भ्रान्त वर्गलाई आफ्नो बेरोकटोक 'उन्नति' रोकिएको अनुभूति भइरहेको छ । ठीक यही बेला आर्थिक संकटले स्पेन जसरी नवनाजीहरूको लागि उर्वरथलो बन्दै गएको छ, त्यसरी नै नेपालका कम्युनिष्ट, लोकतन्त्रवादी र पहिचानवादीहरूको असहिष्णुताका कारण नवमहेन्द्रवादीहरूको लागि उर्वर बन्दै गएको छ । अचेल सुन्न थालिएको 'उदार तानाशाहको खोज' त्यसैको अभिव्यक्ति हो । लोकतन्त्रवादी, कम्युनिष्ट र वामपन्थी भएकोे दाबी गर्ने ठूलठूला पार्टीहरू र तिनका आसेपासेहरूचाहिं के सोच्दैछन् कुन्नि ?" 

यसरी असली नव-फासीवादीहरु खुल्लम खुल्ला रूपमा कराइरहेको बेलामा नेपालका कम्युनिस्टहरु भने फेरी त्यहि स्टालिनकै गल्ति दोहोर्याउदै छन्। यदि समयमै यसबारे विचार नगर्ने हो भने वर्षौको संघर्षबाट प्राप्त उपलब्धिहरु गुम्ने तथा नेपाली कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खानुपर्ने निश्चित छ। साथै क. ट्रट्स्कीका केहि महत्वपूर्ण लेख-रचनाहरुलाई नेपालीमा अनुवाद गरेर तिनको अध्ययन गर्न सके हामीले धेरै कुराहरु बुझ्न पाउने थियौ। विदेशका धेरै गैर-ट्रट्स्कीवादीहरुले पनि उनको फासीवादसम्बन्धि यो विश्लेषणलाई स्वीकार गरेका छन्। तर नेपाली कम्युनिस्टहरुका लागि भने ट्रट्स्की अहिले पनि एक 'अछूत' हुन्, जुन एउटा ठूलो बिडम्बना हो। तर चाडै यो अवस्थाको पनि अन्त्य हुनेछ।

No comments:

Post a Comment