भनिन्छ, मानिसको जीवन कुमालेको चक्र जस्तै हो l हजारौं दुख, कष्ट, हण्डर खाएर भए पनि जीवन बिताईरहेको हुन्छ l काल्पनिक सुखको आसमा मानिसले दु:खका सागरहरु पार गर्दछ l फेरी मानिसले धैर्य लिएर बस्दैन l अनि अर्को दु:खको भुमरीमा हाम फाल्छ l जीवन यात्राका दौरानमा कयौं घुम्तीहरु, उकाली-ओरालीहरु पार गर्दा पाइला-पाइलामा ठेस लाग्यो होला तर सहन्छ l मानौ सहनु उसको नियति हो l जीवनरुपी यात्रा रोकिदैन केहि गरे पनि, अनि जति चोट, पींडा, दुख, कष्ट सहनु किन नपरोस, अगाडी बढ्दै गर्दा जति आँधी, हुरी, तुफानले उसको बाटोमा अबरोध खडा किन नगरोस दुख,कष्ठ र अप्ठ्यारा छिचोलेर अगाडी बढिरहन्छ l मान्छेले सोचें जस्तो,आँकलन गरेजस्तो हुदोंरहेनछ जीवन l कसलाई के थाहा आज यहाँ छ भोलि कहाँ जानु पर्ने हो, अनि पर्सी कस्तो संसारमा विचरण गर्नु पर्ने हो ? यो जीवनको परिभाषा पनि मान्छे पिच्छे फरक-फरक हुदोंरहेछ l कसैले धन, सम्पतिले भरिपुर्ण भई बिलासिता र सम्पन्नाशालिता सहितको भौतिक सुख प्राप्ति गर्नुलाई असली जीवनको रुपमा हेर्दछन l
कसैले भौतिक सम्पति बिहिन 'आत्मिक सुख' लाई नै असली जीवनको रुपमा ब्याख्या गर्दछन l कसैले यो जीवनलाई हजारौ हजार बर्षको तपस्या पछि भगवानले दिएको यौटा 'सुखद अबसर'को रुपमा हेर्दछन र मानव हितको लागि केहि गरेर देखाउनु नै यो जीवनको सार्थकता मान्दछन l \
कसैले यो जीवनलाई'नाटक'को रुपमा स्वीकार गर्दछ l यो नाटकमा जसले उत्कृष्ठ भूमिका निर्बाह गर्न सक्छ l उसको जीवनको अस्थित्व अनन्तकालसम्म रहन्छ l जीवनलाई यौटा 'प्रतिबध्दता'को रुपमा हेर्नेहरु पनि यो संसारमा छन् र ती प्रतिबध्दताका ठेलीहरुको मुर्तरुपतालाई असली जीवन हो भनि विश्लेषण गर्दछन l
कसैले यो जीवनलाई त्याग, बलिदान, परोपकार र मानवताको 'कसी'मा असली 'दशी'को रुपमा मान्दछन l परिभाषा गर्नेहरुले यो जीवनलाई 'कर्कलाको पानी' जस्तै क्षणिक अस्थित्वमा रहने भएकोले समय छदै केहि काम गर्नुलाई सार्थक जीवनको रुपमा हेर्दछन l
जीवनलाई शो-केसमा सजाएर राखेको 'चुरा' जस्तो कुनै युवतीको हातमा लगाउदा-लगाउदै प्याट्ट फुट्न र टुट्न सक्ने अस्थाई बस्तु जस्तै हो भनि कल्पना गर्दछन l यसरी जीवनको परिभाषाहरु आ-आफ्ना होलान, जीवनलाई ब्याख्या, विश्लेषण गरेर आफ्नो अनुकुलतामा तथ्यहरु अगाडी सारेर भन्नेहरु धेरै होलान तर धेरै तथ्यहरुमा सत्य एउटा मात्र हुन्छ र त्यही अमुर्त सत्यको खोजीमा मान्छे भौतारिरहेको हुन्छ l म पनि सबैलाई समेट्न सक्ने जीवनको सहि परिभाषाको खोजीमा लागिरहेको छु l
No comments:
Post a Comment