नेपाली अहिले एउटा जटिल मोडमा छ। एकपछि अर्को सफलता हात पार्दै अघि बढिरहेको हाम्रो यो क्रान्ति अहिले आएर संविधानसभा र बुर्जुवा गणतन्त्रमा अड्किएको छ। एनेकपा माओवादीबाट अलग भएर क. किरणको नेतृत्वमा गठन भएको पार्टी नेकपा-माओवादीले नेपाली क्रान्तिको यस दुरावस्थाको निम्ति प्रचण्ड/बाबुराम जिम्मेवार भएको बताउने गरेको छ। केहि हदसम्म यो सत्य पनि हो। तर मार्क्सवादीहरुले कुनै पनि अवस्था/चिज/प्रवृत्तिको जरो पत्ता लगाउन द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको प्रयोग गर्छन। तर नेकपा माओवादी लगायत अन्य वामपन्थी तप्का यस्तो द्वन्दवादी विश्लेषण भएको अहिलेसम्म पाइएको छैन। उनीहरु दुइ अमुक व्यक्तिहरुलाई सारा दोष लगाई उम्किने गरेका छन्। यसो भन्दा मैले प्रचण्ड/बाबुरामको पक्षपोषण गर्न खिजेको होइन।
हुनत स्टालिनपन्थी-माओवादी क्याम्पमा यस्तो कुरा नौलो होइन। सोभियत संघ र चीन पुन पुँजीवादी बाटोमा फर्कनुको सारा दोष उनीहरु क्रमश निकिता ख्रुस्चेभ र देङ्ग जिआओ पिङ्गलाई लगाउने गरेका छन्।
तर यस्तो विश्लेषण पूर्णत गैर-मार्क्सवादी हो किनकि मार्क्सवादले इतिहास बनाउन कुनै एक व्यक्तिको भूमिकालाई भन्दा उक्त व्यक्तिले गरेको कामकारवाहीका पछाडिको वैचारिक, सामाजिक तथा अन्य पक्षहरुलाई प्राथमिकतामा राख्छ र त्यसको वस्तुवादी र द्वन्दवादी विश्लेषण गर्छ। प्रदीप गिरीको शब्दहरु उधारो लिदा, "शास्त्रीय मार्क्सवाद अर्थात् मार्क्स र एंगेल्सको रचनात्मक परम्परामा नेतृत्वका बारे धेरै विशद चर्चा भएको भेटिँदैन। कार्ल मार्क्सले नेपोलियन तृतीयका बारे लेखेको 'दी एटिन्थ ब्रुमअर अफ लुई बोनापार्ट'(लुई बोनापार्टको अठारौँ ब्रुमअर) भन्ने पुस्तकमा व्यक्तिले इतिहास बनाउने प्रक्रियाका बारेमा केही गम्भीर टिप्पणी अवश्य गरिएको छ। होइन भने मार्क्सवादले इतिहास निर्माणका प्रक्रियामा व्यक्तिलाई केन्द्रीय भूमिका दिने गरेको छैन। सोभियत क्रान्तिको विकासक्रमका निमित्त लेनिनको व्यक्तित्वभन्दा पनि तत्कालीन आर्थिक, भौतिक र अन्तर्राष्ट्रिय परिस्थिति जिम्मेदार छ भनेर कट्टर लेनिनपन्थीले पनि लेखेका छन्। बरु लेनिनका आलोचकले सोभियत क्रान्ति लेनिनको व्यक्तित्व र नेतृत्वको प्रत्यक्ष परिणाम थियो भनेका छन्। लेनिनका कुनै समयका गुरु प्लेखानोभले इतिहासमा निर्वैयक्तिक शक्ति प्रधान हुन्छ भनेर एउटा सिंगो पुस्तक नै लेखे।"
यसै सन्दर्भमा डा। बाबुराम भट्टराईले रोजेको नव-मेन्शेभिकवादी बाटो "ट्रट्स्कीपन्थी" भएको कुरा नेपाली वामपन्थी तप्काको एक हिस्साबाट हालसालै सुन्नमा आयो। सबभन्दा पहिले त नेकपा(माओवादी) का संयोजक मात्रिका यादवले गोरखापत्रमा प्रकाशित एउटा लेखमार्फत उक्त कुरा भनेका थिए। अहिले आएर नेकपा(मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पनि त्यसै लेखेको पढ्न पाइयो। अन्य स्टालिनपन्थी-माओवादीहरुको बुझाइ पनि यो भन्दा फरक छैन। तर वास्तविक ट्रट्स्कीवाद र स्टालिनपन्थी-माओवादीहरुले बुझेको ट्रट्स्कीवादमा आकाश-जमिनको फरक छ। यस लेखको प्रमुख उद्देश्य पनि यस फरकबारे प्रष्ट पार्नु नै रहेको छ।
ट्रट्स्कीपन्थ/वाद बारे मानिसहरुमा भिन्न बुझाई रहेको पाइन्छ। स्टालिनपन्थी-माओवादीहरुको बुझाइमा "ट्रट्सकीपन्थ/वाद" भनेको "लेनिनवादको विपरित, वर्ग-समन्वयवादी, सुधारवादी र पराजयवादी" सिद्धान्त/प्रवृत्ति हो। सबैभन्दा पहिले "ट्रट्स्कीवाद" भन्ने शब्दावली कहिले प्रयोगमा आयो त? यो थाहा पाउन हामीले सन् १९०६ तिर फर्किनु पर्छ। सन् १९०५ मा भएको पहिलो रुसी क्रान्तिमा २६ वर्षको उमेरमा लिओन ट्रट्स्की पेत्रोग्राद सोभियतका अध्यक्ष चुनिएका थिए र उनले मेन्शेभिकहरुले भनेजस्तो उक्त क्रान्तिलाई बुर्जुवा क्रान्तिमा मात्र सिमित नगरेर सर्वहारा क्रान्तिमा रुपान्तरण गर्ने लाइन लिएका थिए। त्यसै सन्दर्भमा बुर्जुवा "संवैधानिक लोकतान्त्रिक पार्टी" का नेता पावेल मिल्युकोभले ट्रट्स्कीको आलोचना गर्दै पहिलोपटक 'ट्रट्स्कीवाद' शब्दको प्रयोग गरेका थिए। त्यस्तै, जब लेनिन र ट्रट्स्कीकाबीच मेन्शेभिक र बोल्शेभिकहरु एउटै पार्टीमा संगै रहने कि नरहने भन्ने विषयमा विवाद हुँदा लेनिनले ट्रट्स्कीको आलोचना गर्दै 'ट्रट्स्कीवाद" शब्दको प्रयोग गरेका थिए। ट्रट्स्की एकता हुनुपर्छ भन्ने विचार राख्थे। तर उनि यस कुरामा गलत थिए। पछि उनले यो कुरा स्वीकार गर्दै सन् १९१७ मा बोल्शेभिक पार्टीमा प्रवेश गरेका थिए। यसको अर्थ यो होइन कि उनु पहिले मेन्शेभिक थिए। (यसबारे सविस्तार जान्नको निम्ति यो टिप्पणी पढ्नुहोला र यसको निम्ति यहाँ क्लिक गर्नुहोला) स्वयम् लेनिनले नै १९१७ मा भनेका थिए- "ट्रट्स्कीले यो कुरा बुझे कि मेन्शेभिक र बोल्शेभिकहरुको बीच एकता हुन सक्दैन। त्यस दिनदेखि ट्रट्स्कीभन्दा राम्रो बोल्शेभिक अरु कोहि छैन।"
स्टालिनपन्थी-माओवादीहरुले बुझेको "ट्रट्स्कीपन्थ/वाद" बुझ्न हामीले महान रुसी अक्टोबर क्रान्ति र त्यस्पस्चात लुकाइएको र बंग्याईएको ऐतिहासिक तथ्यहरुलाई खोतल्नुपर्ने हुन्छ। मार्क्सवादको एक महत्वपूर्ण अंग भनेको अन्तरराष्ट्रियतावाद हो। साथै, स्वयम् मार्क्स र एङ्गल्सले के भनेका छन् भने समाजवाद र साम्यवाद अन्तरराष्ट्रिय स्तरमा मात्र निर्माण गर्न सम्भव छ। पुँजीवादको अन्त्य गर्ने बित्तिकै हामी समाजवादमा स्वत: पुगिने होइन। समाजवादी क्रन्तिपछि पुँजीवादको अन्त्यपश्चात उत्पादनको सारा स्रोत-साधनलाई राज्यको नियन्त्रणमा ल्याइन्छ। तर यसो गर्दैमा मात्र समाजवाद स्थापना हुने होइन। मार्क्सको अनुसार समाजवाद भनेको पुँजीवादभन्दा गुणात्मक रूपमा अझ उन्नत व्यवस्था हो, जसका केहि विशेषताहरु हुन्छन। जस्तै, सर्वहारावर्गको हातमा रहेको सत्ता र उनीहरुको प्रतक्ष लोकतन्त्र/जनवाद, माल-सामानहरुको निर्वाध उपलब्धता, राज्यको अस्थायी र आफै विलिन हुदै जाने चरित्र, मानिसहरुले आफ्नो आवश्यकता र आफ्नो खूबी अनुसारको काम र त्यसैको फल पाउने व्यवस्था, वर्गहरु नरहने, आदि। त्यसकारण यस अवस्थासम्म पुग्न पहिले समाजवाद-उन्मुख आर्थिक-सामाजिक व्यवस्था(गैर-पुँजीवादी मार्फत समाजवाद निर्माणको लागि तयारि गर्नु पर्ने हुन्छ। तर समाजवादी क्रन्तिपस्चात यी कामहरु गरिरहँदा विश्व-पुँजीवादले पनि सोही गतिमा उत्पादनका स्रोत र शक्तिहरुमा प्राविधिक विकास गरिरहेको हुन्छ, किनकि मार्क्सको अनुसार पुँजीवादले आफु बाचिरहनको लागि यस्तो गरिरहनुपर्ने हुन्छ। त्यसकारण पुँजीवादलाइ उछिन्न त परे जाओस, त्यसको स्तरसम्म पुग्नलाइ पनि एउटा एक्लो समाजवादी देशको निम्ति असम्भव हुन्छ। त्यसकारण, समाजवाद निर्माण गर्न कम्तिमा पनि दुइ वा सोभन्दा बढी देशहरुको सामूहिक प्रयास अनिवार्य हुन जान्छ।
अक्टोबर क्रान्तिताकाको रुस यूरोपको सबैभन्दा पिछडिएको देश थियो। बहुसंख्यक जनता किसान थिए भने औद्योगिक मजदुरहरु अल्पसंख्यक थिए। यस अवस्थामा समाजवाद निर्माणको लागि त्यहाँ अन्य छिमेकी देशहरु, मुख्यत जर्मनीमा सफल समाजवादी क्रान्तिको आवश्यकता थियो किनकि जर्मनी एक विकसित औद्योगिक देश थियो र उसले रुसमा समाजवाद निर्माण गर्न सहयोग गर्ने थियो। लेनिन र ट्रट्स्कीले यो कुरा बुझेका थिए। त्यसताकाको लेनिन र ट्रट्स्कीका लेख-रचनाहरु पढ्दा यी कुराहरु सबै प्रष्ट हुन्छन। त्यसकारण अक्टोबर क्रान्तिले साम्राज्यवादीहरुको लूटको विश्वयुद्धबाट पीडित अन्य देशहरुका बहुसंख्यक श्रमजीविवर्गमा पनि तरङ्ग ल्याइदिने निश्चित थियो। तर पहिलोपटक १९१९ मा र पछि १९२४ मा जर्मन क्रान्ति विफल भयो। यता १९२४ कै सुरुमा लेनिनको पनि मृत्यु भैसकेको थियो। यो अवस्थामा शक्ति-संघर्षमा स्टालिनले जिनोभियेव र कामेनेवको सहयोगमा ट्रट्स्कीलाई पन्छाउन सफल भए र उनले त्यसपछि "एक देशमा समाजवाद" जस्तो "सिद्धान्त" लागु गरेर मार्क्सवादलाई नै विकृत बनाए। याद रहोस, लेनिनले स्टालिनका हर्कतहरुबाट वाक्क भएर उनलाई महासचिवको पदबाट हटाउन पार्टीलाई आग्रह गरेका थिए।
यदि तपाइले पानीलाई बरफमा परिणत गर्नको निम्ति फ्रिजमा हाल्नु भयो र बीचैमा बत्ति गयो भने तपाइँ या त इन्भर्टर अथवा कुनै वैकल्पिक उर्जाको प्रयोग गर्नुहुन्छ या त बत्ति आउने बेला पर्खेर बस्नुहुन्छ। तर तपाइँ पानीलाई फ्रिजबाट निकालेर बरफमा परिणत नभैसकेको त्यस तरल पदार्थलाई बरफ भनेर घोषणा त गर्नुहुन्न नि। तर स्टालिनले त्यसै गरे। १९३० तिर रुसमा समाजवाद स्थापना भैसकेको, वर्गहरु नरहेको, आदि इत्यादि घोषणा गरियो। तर वस्तुगत यथार्थ त्यसको विपरित थियो। लेनिन र ट्रट्स्की रुसमा समाजवाद निर्माण गर्नको निम्ति मुख्यत साफक जर्मन क्रान्तिको भरमा थिए। तर १९२४ मा जर्मन क्रान्ति विफल भएपछि स्टालिनले अन्तरराष्ट्रिय क्रान्तिमार्फत समाजवाद निर्माण गर्ने मार्क्सवादी बाटोलाई छाडेर "एक देशमा समाजवाद" को गैर-मार्क्सवादी र पराजयवादी बाटो रोजे। यसैक्रममा उनले अन्तरराष्ट्रियतावादलाई तिलान्जली दिए जसको कारणले गर्दा अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलनले ठुलो क्षति व्येहोर्नुपर्यो। ट्रट्स्कीले यी कुराहरुको विरोध गर्दै आएका थिए र मार्क्सवाद-लेनिनवादको भ्रष्टीकरणको विरुद्ध खुल्ला रूपमा आवाज उठाए। स्टालिनले यसबाट आफूमाथि खतरा देखि सारा ऐतिहासिक तथ्यहरुलाई तोड्ने, फोड्ने र बंग्याउने काम सुरु गरे। लेनिन र ट्रट्स्कीबीचका पहिलेका विवादहरु(१), जुन अक्टोबर क्रान्ति र त्यसपछि आएर साम्य र अप्रासंगिक भैसकेको थियो, तिनलाई पुन अगाडी ल्याए र ट्रट्स्की "लेनिनवादका प्रमुख शत्रु हुन्" भनेर हल्ला फ़ैल्याइदिए। पछि १९२७ मा गएर ट्रट्स्कीका सबै समर्थकहरुलाई कि त मारियो कि त जेल हालियो र स्वयम् ट्रट्स्कीलाई निर्वासनमा पठाइयो। त्यसपछि सोभियत संघमा टट्रट्स्कीका सबै लेख-रचनाहरुमाथि प्रतिबन्ध लगाइयो। तर ट्रट्स्कीली निर्वासनबाटै पनि स्टालिनका गलत कदमहरुको विरुद्ध आवाज उठाइरहे। त्यसपछि स्टालिनले उनलाई "साम्राज्यवाद र फासिवादका एजेन्ट" भन्ने आरोप लगाए जबकि टट्रट्स्की स्वयमले जर्मनीमा हिटलरको उदय हुनुभन्दा दुइ वर्षअगाडी नै फासिवाद बारे सचेत गराएका थिए। पछि गएर स्टालिनले सम्पूर्ण पुराना बोल्शेभिकहरुको हत्या गर्न लगायो र सन् १९४० मा उसकै निर्देशनमा मेक्सिकोमा निर्वासित जीवन बिताइरहेका ट्रट्स्कीको पनि हत्या भयो।
स्टालिनपन्थी-माओवादीहरुले सत्य-तथ्य कुराहरु खोतल्नुभन्दा पनि स्टालिनले पुनर्लेखन गरेको झूठो इतिहासमा नै विश्वास गर्ने गरेका छन्। त्यसकारण उनीहरुले बुझ्ने गरेको "ट्रट्स्कीपन्थ/वाद" पनि यसैमा आधारित छ। उनीहरुको बुझाईमा ट्रट्स्की एक "अवसरवादी, लेनिनवादका प्रमुख शत्रु, फासिवाद र साम्राज्यवादका एजेन्ट" इत्यादि हुन्। र ट्रट्स्कीले प्रतिपादित गरेको 'स्थायी क्रान्ति' को सिद्धान्त उनीहरुको बुझाइमा एउटा सुधारवादी र परजयवादी सिद्धान्त हो किनभने उनीहरुले के अर्थ लगाउछन भने एउटा देशमा मात्र समाजवाद निर्माण गर्न असम्भव हो, त्यसका लागि अन्तर-राष्ट्रिय क्रान्तिको आवश्यकता पर्छ भन्नुको मतलब अन्य देशमा समाजवादी क्रान्ति नहुन्जेल बुर्जुवा गणतन्त्र मानेर बस्नुपर्छ भन्नु हो। यहि बुझाइबाट उनीहरु के निष्कर्ष निकाल्छन भने बाबुरामले पनि भारत र चीन दुइ छिमेकी मध्ये एकको साथबिना नेपाली क्रान्ति पुरा हुन नसक्ने भनेर भनेको र यसैको आधारमा उनले बुर्जुवा गणतन्त्र स्वीकार गर्ने कार्यदिशा लिएको हुनाले उनी पनि "ट्रट्स्कीपन्थी" हुन्। उनीहरुको यस्तो बुझाइ ट्रट्स्की र उनले प्रतिपादित गरेको सिद्धान्तको बारे राम्रो अध्ययन नगर्नुको कारणले गर्दा हो।
तर साँचो अर्थमा के हो त ट्रट्स्कीवाद? हामीले कुनै पनि विचारधारा, जसले मार्क्सवादमा गुणात्मक योगदान पुर्याएर त्यसलाई परिष्कृत गरेको छ, त्यसलाई ...'वाद' को संज्ञा दिन्छौं। त्यसरी नै, ट्रट्स्कीले प्रतिपादित गरेको विचारधाराले पनि मार्क्सवादमा गुणात्मक योगदान पुर्यायो र हामी त्यसलाई मार्क्सवाद-लेनिनवाद-ट्रट्स्कीवाद भन्छौ। ट्रट्स्कीवादक दुइ प्रमुख भागहरु छन्। पहिलो त 'स्थायी क्रान्ति' को सिद्धान्त र दोस्रो हो, सोभियत संघबारेको विश्लेषण। पहिले चर्चा गरौँ 'स्थायी क्रान्ति' को। यो सिद्धान्त ट्रट्स्कीले सन् १९०५ मा पहिलो रुसी क्रान्तिको अनुभव पश्चात प्रतिपादित गरेका थिए। यद्यपि योभन्दा पहिले नै मार्क्सले यसबारे लेखिसकेका थिए। युरोपमा सुरुमा सामन्तवादको अन्त्य गर्न बुर्जुवाहरुले क्रन्तिअकरि भूमिका खेलेका थिए। तर पछि गएर उनीहरुले त्यो क्रान्तिकारी धार त्याग्दै गए र सामन्तिहरुसंग सम्झौता गर्न थाले। यसप्रकार उनीहरु क्रान्तिकारीबाट प्रतिक्रियावादी र केही ठाउँमा त प्रतिक्रान्तिकारीमा रुपान्तरित भए। यस्तै विश्लेषण मार्क्सले जर्मनीमा १९४८-४९ मा भएको क्रान्तिको बारेमा गरेका थिए र उनले सर्वहारावर्गल के आव्हान गरे(२) भने बुर्जुवावर्गले बुर्जुवा क्रान्तिको नेतृत्व गर्दै यसलाई टुंगोमा पुर्याउन असक्षम भएको छ। त्यसकारण अब यस क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी पनि सर्वहारावर्गकै काँधमा आइपरेको छ। त्यसकारण अबको यो क्रान्ति सर्वहारावर्गकै नेतृत्वमा हुनेछ। तर सर्वहारावर्ग बुर्जुवा क्रान्ति सम्पन्न भैसकेपछि बुर्जुवा गणतन्त्रमा मात्रै सिमित भएर बस्न सक्दैन बरु त्यस बुर्जुवा राज्यको अन्त्य गर्दै समाजवाद निर्माणतर्फा अघि बढ्छ। यसप्रकार यो क्रान्ति स्थायी हुनेछ। ट्रट्स्कीले पनि रुसी समाज र त्यहाँका वर्गहरुको विश्लेषण गर्दै यस्तै निष्कर्षमा पुगेका थिए।(४) उनको अनुसार, रुसमा हुने क्रान्तिको चरित्र बुर्जुवा नै हुनेछ। तर बुर्जुवावर्ग यस क्रान्तिको नेत्रित्व गर्न असक्षम रहेको हुनाले यसको नेतृत्व सर्वहारावर्गले नै गर्नेछन। तर बुर्जुवा क्रान्तिका कार्यभारहरु पुरा गरिसकेपछि सर्वहारावर्ग समाजवाद तर्फ अघि बढ्छ र समाजवादी क्रान्तिलाई अन्य देशहरुमा पनि विस्तार गर्दै समाजवादको निर्माण गर्छ। उनले कहीं पनि यो लेखेका छैनन् कि अन्तरराष्ट्रिय क्रान्ति नहुन्जेल सर्वहारावर्गले बुर्जुवा गणतन्त्र मानेर बस्नुपर्छ। उनले त यसको विपरित लेखेका छन्।
लेनिन स्वयमले सार्वजनिक रूपमा नभने पनि उनी ट्रट्स्कीको स्थायी क्रान्तिको सिद्धान्तमा सन् १९१७ मै सहमत भएका थिए। यो कुरा उनले रुसी कम्युनिस्ट पार्टीको दसौं महाधिवेशनमा दिएको भाषणबाट प्रष्ट हुन्छ। उक्त भाषण(३) मा उनले भनेका छन्- ""यो कुरामा कुनै शंका छैन कि जुन देशमा बहुसंख्यक मानिसहरु साना किसान छन्, त्यस देशमा समाजवादसम्म पुग्न केहि संक्रमणकालिन तयारीहरु गर्नुपर्ने हुन्छ। जुन देशमा औद्योगिक मजदुरहरु बहुसंख्यक छन् र साना किसानहरु अल्पसंख्यक छन्, ती देशहरुमा यस्ता उपायहरु नअपनाई छोटो समयमा नै पुँजीवादबाट समाजवादसम्मको संक्रमण पुरा गर्न सकिन्छ। तर हामीले आफ्ना प्राय जसो सबै लिखित दस्तावेजहरुमा यो कुरा भनेका छौं कि रुसमा त्यस्तो(बहुसंख्यक मजदुरहरु भएको) अवस्था छैन। किनभने यहाँ औद्योगिक मजदुरहरु अल्पसंख्यक छन्। यस्तो अवस्थामा रुसमा समाजवाद स्थापना गर्न दुइवटा शर्तहरु छन्:
१) हामीलाई एक वा त्योभन्दा बढी विकसित देशहरुमा हुने समाजवादी क्रान्तिको माध्यमबाट सहयोग प्राप्त भएमा। हामीले विश्व-क्रान्तिको लागि धेरै पहल गरेका छौं तर जति गर्नुपर्ने हो, त्यति गर्न सकिरहेका छैनौं।
२) सर्वहारावर्ग, जसले आफ्नो अधिनायकत्व संचालन गरिरहेको छ, र साना किसानहरुका बीच एउटा समझदारी भएमा।"
अब ट्रट्स्कीवादको दोस्रो भागको कुरा गरौँ। अक्टोबर क्रन्तिपश्चात रुसमाथि श्वेत प्रतिक्रान्तिकारी तथा २१ देशका साम्राज्यवादी सेनाले आक्रमण गर्यो र रुस गृहयुद्धमा फस्यो। यसै ३ वर्ष लामो कठोर गृहयुद्धको समयमा ठुला कठिनाइहरु आइपरे। आर्थिक रूपमा रुस ध्वस्त भयो। यसै मौकामा पूर्व राजावादी तथा बुर्जुवा नोकरशाहहरु पार्टी तथा राज्यको महत्वपुर्ण स्थानहरुमा पुग्न सफल भए। ट्रट्स्कीकै नेतृत्वमा लालसेनाको गठन भयो र उनकै नेतृत्वमा प्रतिक्रान्तिलाई दबाइएको थियो। १९२१ मा गृहयुद्धको अन्त्य भयो तर नोकरशाहहरु अझै पनि रज्य-यन्त्रमा थिए। यसबारे लेनिन निकै चिन्तित थिए र उनले यो नोकर्शहितन्त्रलाई ठेगान लगाउन मजदुर र किसानको एउटा संरचना खादा गरि स्टालिनलाई त्यसको नेतृत्व दिए। तर स्टालिनले त उल्टै यस संरचनालाई ति नोकरशाहहरुलाई आफ्नो पक्षमा ल्याउन प्रयोग गर्न थाले। झन् स्टालिन महासचिव भैसकेपछि त उनीमाथि कसैको नियन्त्रण नै रहेन। यसबाट चिन्तित भै लेनिनले उनलाई महासचिवको पदबाट हटाउन पार्टीको नाममा पत्र लेखे। तर उक्त पत्रलाई लुकाइयो। सन् १९२४ को सुरुमा लेनिनको मृत्यु भयो र त्यसपछि स्टालिनले ट्रट्स्कीलगायत अन्य सबै राजनीतिक प्रतिद्वंदीहरुलाई पाखा लगाई नोकरशाहीतन्त्र मार्फत एकछत्र राज गर्न थाले। उनको छत्रछायामा नोकर्शहितन्त्र झनै बलियो हुन पुग्यो तर यसबारे उनि बेखबर थिए। सर्वहाराको अधिनायकत्वको ठाउँ नि=ओकर्शहि अधिनायकत्वमा परिणत भयो। मजदुरहरुका अधिकारहरु एक पछि अर्को गर्दै कुण्ठित हुन थाल्यो। यिनै सारा कुराको विश्लेषण गर्दै सन् १९३६ मा ट्रट्स्कीले 'द रेभोल्युसन बॆट्रेद' नामक पुस्तक प्रकाशित गरे जसमा उनले लेखे कि यो नोकरशाही सत्तालाई मजदुरहरुले ध्वस्त नपार्ने हो भने सोभियत संघमा समाजवाद स्थापना होइन, बरु यिनै नोकरशाहहरुले पुँजीवादको पुनर्स्थापना गर्नेछन। आखिरमा भयो त्यस्तै नै। यो उनको ज्यादै नै सटिक द्वन्दवादी विश्लेषण थियो।
आफ्नो सुप्रसिद्ध कृति 'राज्य र क्रान्ति' मा सुरुकै लाइनहरुमा लेनिन लेख्छन-""मार्क्सको शिक्षाको सम्बन्धमा आज त्यही कुरा हुँदै छ, जुन उत्पीडित वर्गहरुको मुक्तिसंघर्षमा तीनका नेताहरुको र क्रान्तिकारी विचारहरुको शिक्षाको सम्बन्धमा इतिहासमा अक्सर हुने गरेको छ। उत्पीडन वर्गहरुले महान क्रान्तिकारीहरुलाई उनीहरुको जीवनभरी नै निरन्तर खेदो खन्दै आएका थिए। सबभन्दा बर्बर द्वेष, सबभन्दा क्रोधोंमत्त घृणा, झूठ र लाञ्छनाका सबभन्दा तीव्र अन्धाधुन्ध अभियानद्वारा उनीहरुको शिक्षाको स्वागत गरिएको थियो। परन्तु उनीहरुको मृत्युपछि चाँहि उनीहरुले प्रतिपादित गरेको क्रान्तिकारी शिक्षालाई सारहीन तुल्याउदै, त्यसको क्रान्तिकारी धारलाई बुच्चो पार्दै र त्यसलाई भ्रष्ट गर्दै उनीहरुलाई देवत्व प्रदान गर्ने र उत्पीडित वर्गहरुलाई "फकाउन" र धोका दिनको निम्ति उनीहरुका नामहरुलाई निश्चित गौरव प्रदान गर्ने प्रयत्न गरिन्छ। मार्क्सवादको यस्तै "परिष्कार" गर्नमा नै पुँजीपतिवर्ग र मजदुर आन्दोलनका अवसरवादीहरुको बीचमा आज मिलेमतो कायम छ। यस शिक्षाको क्रान्तिकारी पक्षलाई, त्यसको क्रान्तिकारी भावनालाई बिर्सीइदै छ र बंग्याईदै छ। त्यस कुरालाई सामुने ल्याइन्छ र प्रशंसा गरिन्छ, जुन पुँजीपतिवर्गको निम्ति मान्य छ अथवा मान्य प्रतीत हुन्छ।"
.......यस्तो परिस्थितिमा, विकृत मार्क्सवादको अभूतपूर्व प्रचार-प्रसार भैरहेको अवस्थामा, मार्क्सको वास्तविक शिक्षाको पुनर्स्थापना गर्नु नै हाम्रो प्रमुख कर्तव्य हुन जान्छ।"
यहि कुरा आज क. लिओन ट्रट्स्कीको सम्बन्धमा पनि लागु हुन्छ र र उनले प्रतिपादित गरेको सिद्धान्त, उनका योगदानहरु र उनको बारेमा रहेका ऐतिहासिक तथ्यहरुलाई पुनर्स्थापना गर्नु नै आजको हाम्रो प्रमुख कर्तव्य हो ।

No comments:
Post a Comment