नेता जगन्नाथ बाँस्तोलाले फिर्ता गरे ठगेको रकम
राजधानीबाट एमालेका ठुला नेताहरु पोखरा आउँदा विमानस्थलमा गाडी लिएर पुग्ने पहिलो पात्रहरु मध्येमा पनि पर्छन् यी नेता । दुईचारवटा गाडी भएका र राजनीतिमा लागेर मनग्गे दाम पनि कमाएका ती पात्र हुन् जगन्नाथ बाँस्तोला । धेरै कार्यकर्ताहरुलाई थाहा भएकै विषय हो कि यिनको काम भनेकै नेताहरुलाई विमानस्थलबाट ओर्साने र होटल तथा कार्यक्रमसम्म पु¥याउने । त्यसमाथि झन् सोझा–साझा गाउँलेहरुले ठुला–ठुला नेता आउँदा यिनकै गाडी चढेको देखेपछि बाँस्तोलालाई नमान्ने र नपत्याउने कुरै भएन ।
तर सबैलाई के थाहा, यी ठुला–ठुला नेताहरुलाई ओसार्नुको पछाडिको वास्तविकता र भित्री रहस्य ? यसो हेर्दा वौद्धिक व्यक्तित्व र राजनीतिमा ठुलै पहुँच भएको जस्तो देखिने यी पात्र वास्तवमा नेताको रुपमा ठग नै हुन् । शुरुमा पञ्चायत कालमा पोखरामा उत्तम पुनको पछाडि दर्गुने यी नेता बाँस्तोला यतिबेला पोखरामा हुनेखानेमा गनिन्छन् । यिनको पृष्ठभूमी हेर्ने हो भने न त कुनै पेशा, व्यवसाय, उद्योग, लगानी वा पैतृक सम्पत्ति केही पनि देखिदैंन । तर यिनी यति छिटो रातारात धनी भए कि नेताहरुले विरोधको साटो प्रयोग गर्न तिर लागे ।
धन भएको, गाडी भएको व्यक्तिलाई प्रयोग गर्ने नीतिले गर्दा यी नेता बाँस्तोलाको कर्तुत झन् मौंलाउँदै र फस्टाउँदै जान थाल्यो । भनेको बेलामा गाडी लिएर खुरुक्क आउने र परेको बेलामा जहाँ पनि जाने भएपछि यिनका कर्तुतहरु थाहा पाउँदा पाउँदै पनि एमाले कास्कीका नेताहरु मौन बसेको स्वयम् कार्यकर्ताहरु नै बताउँछन् ।
एमालेको राजनीतिमा लागेर शक्ति र पहुँचको दुरुपयोग गरी यिनले पोखरामा आलिशान महलमात्र बनाएनन् करोडौं रुपैयाँ पनि सजिलै कमाए । तर जसरी यिनले पोखरामा रातारात महल ठड्याए, त्यसरी नै यिनी एक पछि अर्को गर्दै गाउँलेहरु माझ नाङ्गिदैं गए । कसैको नागरिकता बनाउने नाममा, कसैलाई थानाबाट छुटाई दिने नाममा त कसैलाई ड्राइभिङ लाईसेन्स बनाउने नाममा यिनले पाँचहजारदेखि लाखौं रुपैयाँ असुल्दै आएको पर्दाफास भएको छ । कास्की जिल्लाको ल्वाङघलेल गाविस–१, खोराकोमुखमा जन्मिएका नेता बाँस्तोलाले आफ्नै गाउँलेहरुलाई समेत लुट्न र ठग्न बाँकी नराखे पछि उनको हर्कत सार्वजनिक भएको हो ।
तिब्बतीयन नागरिकहरु नेपाली किर्ते नागरिकता काण्डमा फसेको केस होस् वा गाउँलेहरुलाई प्रहरीले समाएर थुनेको अवस्थामा होस् यिनले मुद्दा मिलाई दिने नाममा रकम असुल्दै आएको सप्रमाण यस दैनिकले फेला पारेको छ । भर्खरै मात्र यी नेताले कास्की प्रहरी प्रमुख र राजश्व कार्यालयका प्रमुखको हवला दिदैं ठगी गरेको रहस्य पर्दाफास भएको छ । कडा रुपमा देखिएको कास्की प्रशासनले चलाएको अवैध मदिरा जफत काण्डमा कास्कीको हेम्जा गाविसबाट पक्राउ परेका नौं जना व्यक्तिहरुलाई छुटाई दिने नाममा नेता बाँस्तोलाले ४० हजार पाँचसय रुपैयाँ ठगेका थिए ।
राजश्व कार्यालयमा चर्को जरिवाना तिरेर छुटेका गाउँलेहरुलाई २ दिनपछि आफूले मुद्दा नमिलाई दिएको भए जेलमा सड्ने भन्दै यस वापत प्रहरी र राजश्व कार्यालयका कर्मचारीलाई पैसा दिनु पर्छ भनी जनही चारहजार पाँचसयका दरले रकम असुलेका थिए । सोझा गाउँलेहरुले डराएर नेता बाँस्तोलाले भने झैं गरी रकम बुझाएका थिए । गाउँलेहरुले आफूसँग प्रहरी र राजश्व कार्यालयका प्रमुखहरुले समेत घुस मागेको भन्ने हल्ला चलेपछि बुझ्दै जाँदा नेता बाँस्तोलाले प्रहरी र राजश्व कार्यालय प्रमुखको हवला दिदैं रकम आफैंले कुम्ल्याएको सप्रमाण पुष्टि भएको छ ।
नेता बाँस्तोलाले ठगी गरेको ४० हजार पाँचसय रुपैयाँ समेत पीडितलाई केही नभन्न र यो कुरा बाहिर नल्याई दिन हात जोड्दै फिर्ता गरेका थिए । यतिबेला गाउँलेहरुले नेता बाँस्तोलाको मनसाय र नियतमात्र होइन, बषौंदेखिको ठगीधन्दाको वास्तविकता पनि बुझ्न सफल भएका छन् ।
जेट कम्युनिकेशन सञ्चालन गर्ने नेता बाँस्तोलाले गाउँलेहरुसँग ठगेको पैसा सोही कार्यालयमा नै फिर्ता गरेका थिए । उच्च स्रोतका अनुसार लाईसेन्स बनाउने नाममा र शिक्षण अनुमति पत्र बनाउने नाममा ठगेको रकम अझैसम्म पनि नेता बाँस्तोलाले फिर्ता गरेका छैनन् । आवश्यक परेमा थप अंकमा नेता बाँस्तोलाका अन्य कर्तुत र चरित्रका विषयमा पनि थप समाचारहरु पर्दाफास गरिनेछन् ।
पीडित गाउँलेहरुले डन न्यूजसँग भने–‘यस्तो ठग पनि नेता, अझ हामीलाई त म अब सभासद् हुन्छु भन्ने गथ्र्यो, कसरी बन्ला यस्तो ठग पनि अब सभासद् ?’ गाउँलेहरुले नेता बाँस्तोलाले प्रहरी र राजश्व कार्यालयका प्रमुख देखाएर ठगी गरेकोमा दुःख समेत व्यक्त गरे । पूर्व गाविस उपाध्यक्ष समेत भई सकेको व्यक्तिले यस्तो ठगी गर्ला भनेर सोच्दै सोचेनौं, एक पीडित महिलाले भनिन्–‘उल्टै हामीलाई समस्या परेको बेलामा सहयोग गर्नुको साटो मिलाई दिने बाहनामा ठगी पो ग¥र्यो ?’
पीडितहरुले प्रहरी र राजश्व कार्यालयका प्रमुखले यतिबेला पैसा नखाने र कास्कीमा प्रहरी प्रशासन कडा छ भन्ने सुनेकोले यस्तो नहुन पर्ने भन्दै कुरा गर्दै जाँदा नेता बाँस्तोलाको ठगीको पोल खुल्न पुगेको थियो । नेता बाँस्तोलाले जस्तै गरी केही समय अघि घाचोकमा रहेको अस्थायी प्रहरी चौकीका जिम्मेवार सुरक्षाकर्मीले समेत बन्दुक बुझाउनु पर्ने अभियानका क्रममा रकम असुलेको तर पछि आएर जिल्ला प्रहरी कार्यालयमा पीडितले खबर गरेपछि कारवाहीमा परी जागिरबाटै हात धुनु परेको थियो ।
तर सुरक्षाकर्मीलाई सम्बन्धित निकायले रकम असुलेको प्रमाणित हुने वित्तिकै कारवाही गरेपनि यो देशमा नेताहरुले जति भ्रष्टाचार गरेको प्रमाणित भएपनि खासै कारवाही भने हुन सकेको छैन । त्यसकारण यस्ता मुद्दामामिला मिलाउने वा सहयोग गर्ने वाहनामा रकम ठगी गर्ने नेताहरुलाई कस्तो कारवाही आगामी दिनमा जनताले गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
साथै सिंगो एमाले कास्कीकै बदनाम हुने गरी भएको यस घटनाका विषयमा सम्बन्धित पार्टीले अनुसन्धानको घेरामा यस मुद्दालाई ल्याउँछ कि ल्याउँदैन त्यो पनि हेर्न नै बाँकी छ । यस विषयमा थप जानकारीका लिनका लागि नेता बाँस्तोलालाई ९८५६०–२१५५५ मा धेरैपटक फोन गर्दा समेत उठ्न सकेन भने एसएमएस पठाउँदा समेत कुनै जवाफ नआएकोले नेता बाँस्तोलाको भनाई भने राख्न सकिएन ।
No comments:
Post a Comment