काठमाडौ, बैशाख ९ – आज नेपाल कम्युनिष्ट पार्टीको ६४ औं स्थापना दिवस ।
एकीकृत नेकपा माओवादी, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेकपा संयुक्त, नेकपा मसाल लगायतका दलले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
विक्रम संवत २००६ सालमा आजकै दिन भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशीले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले झण्डै डेढ दर्जन पार्टीहरुमा विभाजित छ ।
कम्युनिष्ट पार्टीको स्थापना हुँदा सहभागी मोतिदेवी श्रेष्ठलाई संस्थापक मान्ने या नमान्ने भन्ने विषयमा शुरुमै विवाद देखिएको कम्युनिष्ट पार्टीमा लगातारजसो आलोचना र आरोपप्रत्यारोप हुँदै आएको छ ।
विघटित संविधानसभामा ६० प्रतिशत भन्दा बढी मत पाएका कम्युनिष्ट पार्टीहरुले आपसी विवादकै कारण नागरिकमा प्रभावकारी सन्देश दिन नसकेको बाम विश्लेषकहरुको भनाई छ । सधैं एकता र सहकार्यको कुरा गर्ने कम्युनिष्ट पार्टीमा एकले अर्काको आलोचना गर्ने संस्कार बसेको छ ।
स्थापना दिवसको अवसरमा एक मात्र जीवित संस्थापक नरबहादुर कर्माचार्यले सिंगो कम्युनिष्ट केन्द्र बनाउन जोड दिनुभएको छ ।
No comments:
Post a Comment